बीजेपी नेता सुब्रमण्यन स्वामीको ट्वीट-‘ओली घर न घाट’ भएकै बेला भारतले चतुर कदम चाल्नुपर्छ’



काठमाडौं, १३ फागुन । भारतीय जनता पार्टी (बीजेपी) का नेता सुब्रमण्यन स्वामीले सर्वाेच्च अदालते प्रधानमन्त्री ओलीको संसद् विघटन बदर गरेपछि ओली ‘घर न घाट’ भएकै अवस्थामा भारतले भारतले चतुर कदम चाल्नुपर्ने बताएका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत् ओली उनकै कदमका कारण अहिले ‘न घर न घाट’को अवस्थामा पुगेको हुँदा यहि बेला चिनियाँ प्रभावलाई निस्तेज पार्न भारतले केहि सिक्नैपर्ने उनले बताएका छन् । उनले भनेका छन्, ‘ओली उनकै कदमका कारण अहिले ‘न घर न घाट’को अवस्थामा पुगेको हुँदा यहि बेला चिनियाँ प्रभावलाई निस्तेज पार्न भारतले केहीँ सिक्नैपर्छ । चिनियाँहरुले भूमिका बढाउने नै छन् त्यसैले सन्तुलन कायम राख्न भारतले निकै चतुर (मूर्खतापूर्ण होइन) राजनीतिक चाल चाल्नुपर्छ।’

यसरी सामजिक सञ्जाल ट्विटमार्फत् नेपालको राजनीतिक परिस्थितिलाई आफ्नो पक्षमा पार्नुपर्ने उनले बताएका छन्। यदि यस्तो उपयुक्त समयमा भारतले त्यसो गर्न नसके चीनले नेपालमा भूमिका बढाउने उनले बताएका छन्। बीजेपीका केन्द्रीय कार्यसमिति सदस्य रहेका उनले नेपाल संभवतः अब लोकतान्त्रिक अवस्थामा फर्किने र गठबन्धन सरकार बन्ने भनी आफ्नो टिप्पणी सार्वजनिक गरेका छन्।

नेकपाको निर्णय फागुन २० गते सुनाउने
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्वामित्वलाई लिएर चलेको विवादमा सर्वोच्च अदालतले यही फागुन २० गते निर्णय सुनाउने भएको छ । सो विवादको सम्बन्धमा बिहीबार सुनुवाइ सकिएपछि न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फागुन २० गते निर्णय सुनाउने मिति तोकेको हो । तत्कालीन नेकपा एमाले र नेकपा माओवादीबीच एकीकरण भएलगत्तै निर्वाचनमा नेकपाको नाममा दल दर्ता गरिएको थियो ।

सो भन्दाअघि नै आफूले उक्त नाममा दल दर्ता गरिसकेको उल्लेख गर्दै ऋषिराम कट्टेलले सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो ।आफ्नो पार्टीसँग मिल्दोजुल्दो नाम राखिएको उल्लेख गर्दै रिट निवेदनमा त्यसलाई खारेज गरी आफ्नो पार्टीलाई आधिकारिकता दिन माग गरिएको थियो । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १४ गते शुक्रवार