पूर्वमन्त्री शेरबहादुर तामाङ पूर्वएमाले पथमा !



विघटित प्रतिनिधिसभाका सांसद तथा नेकपा केन्द्रीय सदस्य शेरबहादुर तामाङ र उनकी श्रीमती उषाकला राईले एकैसाथ प्रचण्ड–माधव समूह परित्याग गरेको घोषणा गरेका छन् । शनिबार दुबैले प्रचण्ड–माधव समूह परित्याग गरेको घोषणा गरेका हुन् । तामाङ दम्पतीले ओली समूहमा प्रवेश गर्दै पूर्वएमाले विचारधार बोकेका सबै नेता तथा कार्यकर्ता यो समूहमा सामेल हुन सक्ने धारणा राखेका छन् ।

उनले ‘प्रचण्ड–माधव नेपालको धेरै कार्यक्रमहरु नजिकबाट नियालेको तर, यो समूहले लोकप्रिय कम्युनिष्ट आन्दोलनलाई पार लगाउन नसक्ने निष्कर्षमा पुगेको र कम्युनिष्ट आन्दोलनको संरक्षणका लागि ओली समूह नै विशेष रहने महसुस गरेको बताएका छन् ।

उनले लोकप्रिय कम्युनिष्ट आन्दोलन पूर्वएमालेको एजेण्डा भएको भन्दै त्यसको नेतृत्व प्रधानमन्त्री ओलीले बोकेर हिँडिरहनु भएकाले पूर्वएमालेको विचार मन पर्ने जो पनि ओली समूहमा सामेल हुन सक्ने दावी गरेका छन् ।

अहिले राजनीतिक दृष्टिकोण महत्वपूर्ण भएको र कम्युनिष्ट पार्टीभित्र त्यो संकटमा परेकाले त्यसलाई समाधान गर्न ओली समूहको नै विशेष भूमिका रहने तामाङको भनाइ छ । उनले कुनै पनि पदका लागि आफू ओली समूहमा नआएको दाबी गरे ।

प्रकाशित मिति : २०७७ फाल्गुन ९ गते आइतवार