एसईईमा ई ग्रेड हटाइदै, ३५ अंक भन्दा तल नन ग्रेडिङ !



नयाँ शैक्षिक सत्रदेखि एसइईमा गुणस्तर सुधारको लागि सरकारले कक्षा १० (एसइई) मा हालको अक्षरांकन प्रणालीमा परिवर्तन गर्ने तयारी गरेको छ । दातृ निकायको इसारामा माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा कार्यान्वयन गरिएको ५ नम्बर ल्याएर पास हुने अक्षरांकन प्रणालीले विद्यालय शिक्षाको गुणस्तर थप खस्काएको निष्कर्ष निकाल्दै सरकारले यस्तो तयारी गरेको हो ।

अध्ययनरत विद्यालयबाट विद्यार्थीले प्राक्टिकलमा २५ नम्बरमा २५ नम्बरसम्म नै प्राप्त गरेको तर बाँकी ७५ नम्बरको सैद्धान्तिक लिखित परीक्षामा अंक ल्याएको पाइएकाले यस्तो तयारी गरिएको हो । उषा झाको अध्यक्षतामा भदौमा गठित एसइइ सिकाइ सुधारका लागि अक्षरांकन पद्धति सिफारिस समिति समितिले हाल कार्यान्वयनमा रहेको ९ श्रेणीको अक्षरांकन पद्धतिले समग्र शैक्षिक गुणस्तर घटेको प्रतिवेदनमा निकालेको छ ।

प्रतिवेदनमा विद्यार्थी सिकाइ उपलब्धिको गुणस्तर वृद्धि गर्न हालको ९ श्रेणीको अक्षरांकन प्रणालीलाई झारेर ८ श्रेणीमा गरिनुपर्ने सुझाइएको छ । यसका साथै हालको २० नम्बरभन्दा तलकालाई ननग्रेडिङ गर्ने व्यवस्था हटाएर ३५ नम्बरलाई आधारभूत नम्बर तय गरेको छ ।

अब ३५ भन्दा तल नम्बर प्राप्त गर्ने विद्यार्थी फेल हुने अर्थात् ननग्रेडिङ गर्ने व्यवस्था गरिएको छ । हाल सिफारिस गरिएको प्रस्तावले ई ग्रेड हटाएको छ । डी ग्रेडसम्मका विद्यार्थीलाई मात्र कक्षा ११ पढ्ने बाटो खोलेको छ । अब नयाँ व्यवस्था कायम भए ३५ अंकभन्दा तलका विद्यार्थीले कक्षा ११ मा अध्ययन गर्न पाउने छैनन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन ७ गते शुक्रवार