बर्षमानलाई माइनस गर्दै सुरेन्द्रलाई प्रचण्डले काँध थापेपछि……



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहमा महासचिव पद कसलाई दिने भन्ने लामो विवाद थियो। एकातिर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको आन्दोलनको चौथो चरण सुरु भएको छ भने अर्कातिर महासचिवको विवाद हल गर्नुपर्ने टड्कारो थियो।

यो विवाद हल गर्नका लागि प्रचण्डले नयाँ प्रस्ताव अघि सारेका छन्। महासचिव पदको दौडका लागि रहेका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, बर्षमान पुन र जनार्दन शर्मा छन्। धेरैले महासचिव पद पूर्वमाओवादीका नेतालाई प्रचण्डको प्रस्तावमा प्राप्त हुने आशा थियो। तर अनौपचारिक बैठकमा प्रचण्डले पाण्डेको नाम प्रस्ताव गरे जसलाई अर्का अध्यक्ष माधवकुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाललगायत पूर्वएमालेका नेताले समर्थन गरिदिए। अहिले आन्दोलनको अवस्थामा रहेका कारण मुटुमाथि ढुंगा राखेरै भए पनि पूर्वमाओवादीले पाण्डेको नाममा मौन समर्थन जनाउन बाध्य हुनु परेको स्रोतले बताएको छ।

प्रचण्डले पाण्डेलाई काँध थाप्नुका पछाडि मुख्य दुई कारण रहेको बताइन्छ। पहिलो, विभाजित भइसकेको पूर्वएमालेका नेतालाई धक्का दिन पाण्डेको विश्वास हातमा लिनु रहेको बताइन्छ।
‘पूर्वएमालेको कित्तालाई नेतृत्वमा र विश्वासमा नलिए साथ छाड्नसक्ने भय प्रचण्डमा अझै छ’, स्रोतले भन्यो,‘त्यहि भएर माधवकुमार नेपाल, झलनाथ खनाललाई पनि कन्भिन्स गर्न सक्ने भएकाले पाण्डेलाई प्रचण्डले बाकिदिए।’

अर्कोचाहिँ चितवन नै निर्वाचन क्षेत्र भएका गृहमन्त्री रामबहादुर थापा बादल पनि ओलीसँग टाँसिएपछि जिल्लामा अतिरिक्त सहयोगमात्र नभएर काँध थाप्ने नेताको खोजी गरिरहेका प्रचण्डले पाण्डे एउटा पात्र भेट्टाए। जसलाई पार्टीको नेतृत्वमा काँध थापेर ग्राउन्डको राजनीतिमा आफू बलियो हुने आधार बनाइरहेका छन्। त्यसका लागि विश्वासपात्र मानिएका पुनलाई माइनस गर्दै पाण्डेलाई महासचिवमा ल्याउन प्रचण्ड राजी भएको बताइन्छ।

नेकपा एकीकरण हुने तत्कालको सम्भावना नरहेपछि ग्राउन्डसहित केन्द्रमा पनि माधवनेपाल इतरको संख्या बढाउनका निम्ति प्रचण्डले विभाजित भएको पूर्वएमालेभित्र पनि सत्ता नेतृत्वको रणनीति अख्तियार गरेका छन्। जसका कारण महिला नेतृत्वमा रामकुमारी झाँक्रीलाई अगाडि बढाउने उनको योजना छ। खासगरी युवा विद्यार्थीको विभागीय जिम्मेवारी झाँक्रीलाई दिन सकिने प्रस्ताव प्रचण्डले गरेका छन्।

त्यति मात्र नभएर संसद पुनःस्थापना भएको र सरकार बन्ने अवस्थामा झाँक्रीलाई मन्त्रीसम्म बनाउने प्रस्ताव प्रचण्डले गरिसकेका छन्। ‘सिद्धान्तको कुरा छैन, संगठनमा प्रभाव जमाउने कुराले प्रचण्ड अहिले विभाजित भएको पूर्वएमालेलाई पार्टी र सम्भावित सरकारको पद दिएर भए पनि नेतृत्वमा बलियो भएर बस्ने रणनीतिमा छन्’, स्रोतले भन्यो,‘परिवारवादको तिव्र आरोप र आलोचना खेपीरहेका कारण अहिले नै कोही सदस्यलाई जिम्मेवारीमा ह्वात्तै ल्याउने पक्षमा प्रचण्ड छैनन्। बरु, पूर्वएमाले रिझाउनमै उनी अभ्यस्त हुनेछन्।’

प्रकाशित मिति : २०७७ फाल्गुन ५ गते बुधवार