संसद पुर्नस्थापना तर्फ मोडियो अदालतको बहस, जाने भयो यी नेताको पद !



काठमान्डौ | प्रतिनिधि सभा विघटनविरुद्धको रिट निवेदनमाथि अदालतका सहयोगी अर्थात् एमिकस क्युरीले राय दिने क्रम सुरु भएको छ । एमिकस क्युरीका तर्फबाट पहिलो राय दिनुभएका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संविधानमा जे लेखेको छ, त्यही कुरा मात्रै हेर्नुपर्ने बताउनुभएको छ । संविधान निर्माण गर्दा भएका छलफल र संविधानले यसो भन्न खोजेको हो भनेर कल्पना गर्नुभन्दा पनि संविधानमा जे लेखिएको छ, ठ्याक्कै त्यही कुरालाई हेर्नुपर्ने कार्कीको राय छ ।

संवैधानिक इजलासमा कार्कीले भने ‘संविधान बनाउनेहरू नै अहिले संविधान समाप्त हुन लाग्यो भनेर सडकमा आन्दोलन गरिरहेका छन्, हामीले बनाएको संविधान दुर्घटनामा पर्‍यो भनिरहेका छन्, यो विषयको निष्कर्ष संवैधानिक इजलासले गम्भीर ढङ्गले निकाल्नुपर्छ ।’ संसद् विघटनको विषयमा २०४७ सालको संविधानमा भएको व्यवस्थाभन्दा २०७२ सालको संविधानमा धेरै फरक भएकाले दोहोरो अर्थ लाग्ने गरी अलमलिनु पर्ने कारण नरहेको वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीको भनाइ छ ।

एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक रहनुभएको छ । उहाँहरूले प्रतिनिधि सभा विघटनको विषयमा अदालतलाई न्याय सम्पादनमा सहयोग पुग्ने उद्देश्यका साथ स्वतन्त्र विचार दिनु हुनेछ ।

संसद पुर्नस्थापना भए पल्लाभारी पुग्छन यी नेता
प्रतिनिधिसभा विघटनविरुद्ध अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ । रिट निवेदकका पक्ष र विपक्षका कानुन व्यवसायीले आ–आफ्नातर्फबाट बहस सकेका छन् ।आजदेखि सर्वोच्च अदालतको एमिकस क्युरीका तर्फबाट बहस सुरु भएको छ । अदालतलाई सल्लाह दिने एमिकस क्युरीका तर्फबाट बहस सकिएपछि मात्र सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने कि विघटनलाई सदर गर्ने भन्ने निर्णय गर्ने छ ।

विश्वस्त स्रोतका अनुसार फागुन १५ गते सर्वोच्चले आफ्नो फैसला सुनाउने भएको छ । प्रतिनिधिसभा विघटनका विषयमा अदालतमा बहस चल्दै गर्दा धेरैमा प्रतिनिधि सभा पुनःस्थापना भएमा क–कसको पद धरापमा पर्ला भन्ने चासो देखिएको छ । सबैभन्दा पहिले प्रधानमन्त्री केपी ओली त संकटमा पर्ने भइहाले । किनभने उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने र त्यसको प्रक्रिया अघि बढाउँदा उनले विश्वासको प्रस्ताव गुमाउने निश्चित छ ।

प्रधानमन्त्री ओलीलाई हटाइसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारी टार्गेटमा पर्ने देखिन्छ । किनभने भण्डारीमाथि प्रधानमन्त्री ओलीको सहयोगी मात्र बनेको आरोप लागेको छ । त्यसैले उनलाई पदबार राजीनामा दिन बाध्य पारिने छ नेकपा प्रचण्ड–माधव समूहका नेताअनुसार संवैधानिक अंगका पदाधिकारी नियुक्ति गर्दा कानुनविपरीत बोलाइएको संवैधानिक परिषदको बैठकमा प्रधानमन्त्री ओलीको सहयोगी बनेको आरोपमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना फालिनेछन् ।

तिमल्सिना ओलीका विश्वासपात्र हुन् । यसैगरी, अर्थमन्त्री भएर प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार हुँदै अमेरिकाका लागि नेपाली राजदूत बनेका डा।युवराज खतिवडाको पद पनि धरापमा पर्ने बताइन्छ । यदि संसद् पुनःस्थापना भएमा उनलाई राजदूतबाट फिर्ता बोलाउने सम्भावना बढी रहेको बताइन्छ । सबैभन्दा महत्वपूर्ण विषय भने अख्तियार प्रमुखलगायत असंवैधानिक तवरले नियुक्त भएका संवैधानिक परिषद्का विभिन्न पदाधिकारीहरुको पद जुनसुकै बेला जाने देखिन्छ । संसद् पुनःस्थापना भएर कांग्रेस वा प्रचण्ड–माधव समूहमध्ये जसको नेतृत्वमा सरकार बने पनि माथि उल्लेखित पदमा आसीनको जागिर खुकुरीकै धारमा रहेको बताइन्छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन ४ गते मङ्गलवार