
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले निर्वाचनमा प्रत्यक्षतर्फ बहुमत र समानुपातिकमा ५० लाख मत प्राप्त गर्ने उद्घोष गरेका छन्। प्रचण्डले विगतमा सर्वसाधारणलाई अनेक सपना देखाएर झुक्याएर सत्तामा जाने भर्याङ बनाएको भन्दै उनले आफूलाई लोकप्रिय छौ भन्नेहरू चुनाव किन डराएको भनि प्रश्न गरे। उनले भने, ‘यदि कसैलाई आफू लोकप्रिय छौं भन्ने लाग्छ भने जनमतमा आउनुहोस्। मान्छे हेर्ने मात्रै किन ? गनौंला नि बाकसबाट मतपत्रै निकालेर गनौंला नि। कसको समर्थनमा कति भन्ने ? ५० लाख हामी समानुपातिक मत ल्याउँछौं घटाएर देखाउनुहोस् न त्यो मत। हामी प्रत्यक्षतर्फ बहुमत सिट ल्याउँछौं घटाएर देखाउनुहोस् न। किन आत्तिनुभएको चुनावबाट ?’
आफूले दलहरू आन्दोलित र विभाजित भएको बेला ५० वर्षभन्दा अगाडि एक तारे एकीकरणको अभियान सुरू गरेको र तीन वर्षअगाडि माओवादी केन्द्र र एमालेलाई मिलाएर एउटा सशक्त कम्युनिष्ट पार्टी बनाउने अगुवाई गरेको स्मरण गर्दै देश बनाउने नभई आफू बन्ने उद्देश्य बोकेकाहरूले काम गर्न नदिएको प्रधानमन्त्रीको भनाइ थियो। उनले देश बनाउन र स्वाभिमान उठाउन नभई नेपालको नक्सा प्रकाशित गर्ने नेतृत्व गरेपछि आफ्ना विरोधीहरू आत्तिएको र आफूलाई प्रधामन्त्रीबाट हट्नुपर्यो भनेको सुनाए।
पार्टी नफुटेको र फुट्दैन भन्ने कुरा सभाहरूमा हुने उपस्थितिले देखाएको भन्दै उनले आफ्नो व्यक्तिगत स्वार्थ, गुटबन्दी गर्ने, उद्देश्य नमिलेका र देश बनाउने सपना नबोकेका, समृद्धि र देश बनाउने उद्देश्यलाई अस्वीकार गर्ने तत्वहरू मात्रै बाहिरिएको बताए। प्रचण्ड माधव समूहले विगतमा पार्टीभित्र बसेर गाली गरेको, रेडियो, टिभिमा गएर मनपरी बोलेको र अहिले पार्टी बाहिर गएर मनपरी बोलेको उनले बताए।
पार्टी शुद्धीकरण गर्नुपर्ने आवश्यकता परिरहेका बेला प्रचण्ड-माधव समूह बाहिर गएर महान शुद्धीकरणका लागि ढोका खोलेको बताए। अब पार्टी शुद्धीकरण भई अनुशासित र गतिशील ढंगले विचार अघि बोकेको पार्टीको रूपमा अब पार्टी अघि बढेको दाबी गरे। केही मानिस पार्टी छोडेर गएको र कठै बरा भन्नुपर्ने मानिसहरू नगएको जिकिर पनि उनले गरे।