
काठमाडौं, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहका अध्यक्ष पुुष्पकमल दाहालले जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग एउटै पार्टीमा नरहेपनि राजनीतिक मुद्दा र एजेण्डामा आफूहरू एउटै ठाउँमा रहेको बताउनुभएको छ ।
शनिबार जसपाका संघीय परिषद् अध्यक्ष भट्टराईको पुस्तक ‘गुमनाम आमाहरुको कथा’ विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको परिस्थितिमा डा. बाबुराम भट्टराईसँग एउटै पार्टीमा नभएता पनि मुद्दा र एजेण्डाका हिसाबले आफूहरु फेरि एउटै मोर्चामा रहेको बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘इतिहासको कर्मको कारण होमी दुबै जना अलग हुन खोजेपनि चुम्बकले तानेजस्तो नजिक ल्याएको छ ।’ त्यस्तै, उहाँले आफूहरुलाई इतिहासले अलग हुन नदिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘ती हजारौं शहीदले हामीलाई अलग हुन दिँदैनन् ।’
त्यस्तै, उहाँले डा. भट्टराईको ‘गुमनाम आमाहरूको कथा’ भित्र रहेका रचनाहरूलाई सरसर्ती नियाल्दा हिजोका सबै स्मरण, अनुभव, अनुभूति ताजा भएर आएको आएका पनि बताउनुभएको छ । डा. भट्टराईले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, जसपा वरिष्ठ नेता अशोक राईलगायतको उपस्थितिमा ‘गुमनाम आमाहरूको कथा’ विमोचन गर्नुभएको हो ।