सरकारले गर्याे शिक्षा नियमावली संशोधन दुई शैक्षिक सत्र असारदेखि सञ्चालन हुने, एसईई जेठमा



विद्यालय तहको शैक्षिक सत्र व्यवस्थापन गर्न सरकारले शिक्षा नियमावली संशोधन गरेको छ । कोरोना भाइरसको महामारीका कारण नयाँ शैक्षिक सत्र वैशाखमा सञ्चालन गर्न सम्भव नभएपछि सरकारले नियमावली संशोधन गरेको हो ।

नियमावली संशोधन भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्रको मिति तोक्ने अधिकार पाएको छ । ‘नियमावलीमा शैक्षिक सत्र वैशाखदेखि कायम गर्ने भन्ने थियो’, शिक्षा मन्त्रालयका सचिव गोपिनाथ मैनालीले भने, ‘विशेष परिस्थिति (कोभिड–१९) का कारण शैक्षिक सत्र परिवर्तन गर्ने प्रावधान सरकारले राखेको छ । अब शैक्षिक सत्रको नयाँ मिति तोकिन्छ ।’ मन्त्रालयले दुई वटा शैक्षिक सत्र असारदेखि सुरु गर्ने गृहकार्य थालेको छ । ‘यो वर्ष र आगामी वर्ष १ असारदेखि शैक्षिक सत्र कायम गर्ने गृहकार्य थालेका छौँ’, सचिव मैनालील भने ।

एसईई जेठमा
माध्यामिक शिक्षा परीक्षा (एसईई) राष्ट्रिय परीक्षा बोर्डले जेठमा गर्ने भएको छ । ‘एसईई बोर्डले नै गर्ने निर्णय भएको छ तर प्रदेशको सहकार्यमा हुन्छ’, उनले भने, ‘ऐन बाधक भएका कारण प्रदेशले परीक्षा गर्न सम्भव भएन ।’

अघिल्लो वर्ष एसईई विद्यालयलाई मूल्यांकन गर्न दिइएको थियो । तर, विद्यालयले जथाभावी नम्बर दिएपछि परीक्षा बोर्डले नै सञ्चालन गर्ने निर्णयमा सरकार पुगेको हो । ‘पोहोर विद्यालयले गर्दा धेरै गुनासो आयो । स्थानीय तहले पनि अहिले गर्ने स्थिति देखिएन । त्यसैले परीक्षा बोर्डले नै सञ्चालन गर्ने निर्णय भएको हो’, उनले भने ।

विद्याथीले पायक पर्ने ठाउँबाट पठनपाठन र एसईई दिन पाउने व्यवस्था मिलाइने भएको छ । ‘पहिले जुन विद्यालयमा रजिस्टेसन भर्‍यो । त्यहीँबाट जाँच दिने थियो । कोरोनाका कारण विद्यार्थी घरमा गएका छन् । नजिकको विद्यालयबाट पठनपाठन गरेको हुनसक्छ । त्यसलाई सहजीकरण गर्ने प्रावधान नियमावलीमा राखिएको छ’, सचिव मैनालीले भने ।

जेठको दोस्रो साताभित्र विद्यालय तहको पठनपाठन पूरा गरिने उनले बताए । ‘कोभिडका कारण भदौसम्म कक्षा नै भएन । असोजदेखि वैकिल्पिक मोडमा गयौं । पहुँच भएको ठाउँमा राम्रो भयो तर सबै ठाउँमा प्रभावकारी भएन । १ माघदेखि सबै विद्यालय खुलेका छन् । पाठ्यभार समायोजन गरिएकाले जेठको दोस्रो हप्तासम्म पढाइ हुँदा कोर्स पूरा हुन्छ’, उनले भने ।

प्रकाशित मिति : २०७७ माघ २८ गते बुधवार