आयोगको विज्ञापन समयमा नखुल्दा अध्यापन अनुमति पत्र लिएर बसेका हजारौं व्यक्तिहरु अन्याैलमा



काठमाण्डौं | शिक्षक सेवा आयोगले विज्ञापन खुलाउने प्रक्रियामा ढिलाई गरेका कारण अध्यापन अनुमति पत्र लिएर बसेका हजारौं व्यक्तिहरू अहिले अन्याैलमा परेका छन् । पदपूर्तिका लागि तथ्यांक पठाउने समयसीमा ऐन नियमावलीमा स्पष्ट रुपमा किटान हुन नसक्दा यो अवस्था सिर्जना भएको हो ।

अध्यापन अनुमति पत्र प्राप्त हजारौं व्यक्तिहरु अहिले आयोगकोे विज्ञापनको परखाईमा बसेका छन् । आयोगले हालसम्म ७ लाख १७ हजार १०५ जनाले अध्यापन अनुमति पत्र लिएको जनाएको छ । प्राथमिक तह अन्तर्गत २ लाख दुई हजार ७ सय १२, निम्न माध्यामिक तह अन्तर्गत ३ लाख ७० हजार १२ र माध्यामिक तह अन्तर्गत एक लाख ४४ हजार ३ सय ८१ जनाले अध्यापन अनुमति पत्र प्राप्त गरेको छ । तीमध्ये केहीको स्थायी पदपूर्तिमा नाम रहेका छन् ।

आयोगले खुला प्रतियोगिता र अस्थायी कार्यरत शिक्षकलाई प्रतिस्पर्धाबाट स्थायी पदपूर्ति गर्दै हालसम्म ५८ हजार ७ सय ३७ जनाको स्थायी पदपूर्ति गरेको छ । जसमा प्राथमिक तहमा ३८ हजार १ सय १३, निम्न माध्यामिक तहमा ११ हजार ७०७ र माध्यमिक तहमा ८ हजार ९ सय १८ जनालाई स्थायी पदपूर्ति गरेको छ । शिक्षक सेवा आयोगको ०७४/ ०७५ पश्चात् यता विज्ञापन खुलेको छैन । यो वर्ष आयोगले प्राथामिक तह, निम्म माध्यामिक तह र माध्यमिक तहमा गरि १४ हजार ७ सय ५२ पदका लागि विज्ञापन आव्हान गर्दै झण्डै पन्ध्र हजार शिक्षक पदको विज्ञापन खुल्ने जनाएको थियो ।

शिक्षक सेवा आयोगको पदाधिकारी नभएका कारण विज्ञापन अहिले नै खुल्न सक्छ भन्ने अवस्था नरहेको आयोगका सूचना अधिकारी तथा प्रवक्ता सुदर्शन मरहठ्ठाले खबर एजुकेशनलाई बताए । यो वर्षभन्दा अगाडी ०७४/ ०७५ मा करिब १७ हजार जनाले शिक्षक अनुमतीपत्र प्राप्त गरेका थिए । हालसम्म करिब सात लाख जना व्यक्तिहरुले अनुमति पत्र लिईसकेको पनि उनले जानकारी दिए ।

आयोगले प्रश्न बैंक पनि व्यवस्थित गर्न सकिरहेको छैन । पदपूर्तिका लागि तथ्यांक पठाउने समयसीमा ऐन नियमावलीमा स्पष्ट किटान नहुँदा वार्षिक कार्यतालिका निर्माण गरी नियमित रूपमा विज्ञापन गर्न नसक्दा अहिले भने हजारौं अध्यापन अनुमति पत्र प्राप्त व्यक्तिहरु मारमा परेका छन् ।

प्रकाशित मिति : २०७७ माघ २७ गते मङ्गलवार