
काठमाडौं, २७ माघ । नेकपा ओली समुहको भातृ संगठन युवा संघमा कुटाकुट भएको छ । नयाँ नेतृत्व चयन गर्ने गरी आइतबारदेखि शुरु भएको राष्ट्रिय युवा संघको राष्ट्रिय भेलामा उनीहरुबीच नै कुटाकुट भएको हो । उक्त भेलामा रामबहादुर थापा बादल समूहका नेताहरुले बहिष्कार गरेका थिए । भेलामा भएको कुटाकुटको भन्दै ओली समुहमै लागेका युवा संघका नेता सुवित ढुङ्गानाले भिडियो सार्वजनिक गरेका छन् ।
‘अराजनैतिक गुटवादी ,अक्षम नेतृत्वले नेतृत्व गरेको संगठन , पार्टी यस्तै हुने हो यसले विकास हैन बिनास निम्ताउछ,’ भिडियो सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘यो कुनै दोस्रो राष्ट्रिय युवा संघ नेपालको आधिकारिक पुर्ण बैठक होइन । यो अराजकता र उद्दण्डहरुको बैठक हो । यसलाई पार्टीले मान्यता दिएको छैन ।’
नेकपा विभाजन हुँदा केपी ओलीतिर लागेका बादलको युवा संघमा ५६ जनाले भेला बहिस्कार गरेका थिए । उनीहरुले बहिस्कार गरेपनि युवा संघका ईन्चार्ज महेश बस्नेत र पूर्व सहसंयोजक रमेश पौडेलबीच विवाद रहेको बताइएको छ । बस्नेतले युवा संघको अध्यक्षमा किरण पौडेललाई प्रस्ताव गरेका थिए । यता पौडेलले भने बचन बहादुर सिंहलाई अध्यक्ष बनाउनुपर्ने प्रस्ताव गरेका थिए । अन्तत चार महिनाका लागि भएपनि बचन बहादुरलाई अध्यक्ष बनाउने र हाल सहअध्यक्ष बनाइएका किरण पौडेललाई त्यसपछिको अध्यक्ष बनाउनेगरी सहमति भएको स्रोत बताउँछ ।
हिजोको भेलाले सिंहलाई अध्यक्ष बनाएको छ भने महासचिवमा धादिङका रमेश आचार्यलाई बनाइएको छ । विभाजित हुनुअघि नेकपा निकट राष्ट्रिय युवा संघमा ३३५ जनाको केन्द्रीय समिति थियो । तर, हाल ओली समहमा लागेका ८१ जनाले भेला बोलाएर अध्यक्ष राम प्रसाद सापकोटा दिपशिखालाई पदबाट हटाउँदै सिंहलाई अध्यक्ष बनाएको हो ।
उहाँहरु गुट भित्रपनि तीन वटा उपगुट रहेछन् । उनीहरुबीच कुटाकुट र टाउको फोराफोर भएको हो,’ भिडियो सार्वजनिक गर्ने ढुंगानाले दियोपोस्टसँग भने,‘यो भिडियो त्यहाँ भित्र भएको टाउको फोराफोरको हो ।’