नेकपा पार्टीमाथि आधिकारिकता दाबी गर्न प्रधानमन्त्री ओली निर्वाचन आयोग जाँदै



काठमाडौँ, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली नेकपामा आधिकारिकता दाबी गर्न आज निर्वाचन आयोगमा उपस्थित हुने जनाइएको छ ।

प्रतिनिधि सभा विघटनसँगै विभाजित नेकपा पार्टीको आधिकारिकता र विद्यमान सूर्य चुनाव चिह्न आफ्नो पक्षमा रहेको दाबी गर्दै ओली आयोगमा जान लाग्नुभएको हो । यसअघि यही माघ १६ गते नेकपाका दुवै पक्षलाई पार्टीको आधिकारिकता विवादमा छलफल गर्न बोलाएको भए पनि प्रधानमन्त्री ओली पक्ष उपस्थित भएको थिए । नेकपाको अर्को धार प्रचण्ड–माधव पक्षका नेताहरु भने यसअघि नै आयोगको कार्यालयमा पुगेर नेकपामाथि आधिकारिकता दाबी गरेका छन् ।

प्रधानमन्त्री ओली आज बिहान ११ बजे आयोगको कार्यालयमा उपस्थित हुने बालुवाटार स्रोतले जनाएको छ । सो क्रममा वैशाखमा घोषणा गरिएको मध्यावधि निर्वाचनको तयारीका विषयमा पनि आयोगका पदाधिकारीसँग प्रधानमन्त्रीले छलफल गर्ने बताइएको छ ।

गत पुस ५ गते प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेर चुनावमा जाने घोषणा गरेसँगै नेकपा दुई समूहमा विभाजन भएको छ । तर आयोगले भने कुनै समूहलाई पनि अहिलेको अवस्थामा आधिकारिकता दिन नसकिने जनाएको छ । नेकपाका दुवै खेमाका नेताहरुले आफूहरु मूल पार्टी रहेको दाबी गर्दै आए पनि आयोगले दुवै पक्षको दाबी नपुगेको बताउँदै आएको छ ।

प्रकाशित मिति : २०७७ माघ २७ गते मङ्गलवार