
क्वालालम्पुर (मलेसिया) | मलेसियामा कार्यरत नेपाली श्रमिकको आत्महत्या बारे मलेसिया स्थित नेपाली दूतावासले चिन्ता व्यक्त गरेको छ। मलेसियामा नेपाली श्रमिकको मृत्युदर अन्य देशको तुलनामा बढी रहेको छ । नेपाली दूतावासका द्धितिय सचिव प्रतिक कार्कीले स्थानीय मिडियालाई बताए अनुसार गतबर्ष सन् २०२० भरिमा विभिन्न कारणबस मृत्यु भएका २ सय ८४ नेपाली श्रमिक मध्ये ४६ जना नेपालीले झुण्डिएर आत्महत्या गरेका हुन् ।
स्थानीय मिडिया फ्रि मलेसिया टुडेसंगको कुराकानीको क्रममा दूतावासले बताए अनुसार सन् २०१९ भरिमा मृत्यु भएका २ सय ९८ नेपाली मध्ये ४९ जनाको मृत्युको कारण आत्महत्या रहेको थियो भनें सन् २०१८ भरिमा मृत्यु भएका ३ सय ४५ जना नेपालीमध्ये ४५ जना को मृत्युको कारण पनि आत्महत्यानै रहेको थियो ।
कार्कीले मलेसियामा प्रति महिना कम्तिमा पनि २० जना नेपालीको मृत्यु भइरहेको र यो एकदमै चिन्ताजनक रहेको बताए । पछिल्लो समयमा कोभिड-१९ का कारण पनि मानिसमा निराशा बढेको हुन सक्ने अनुमान गरिएपनि यकिन भनें छैन।
क्वालालम्पुर स्थित नेपाली दूतावासले झुण्डिएर आत्महत्या गरेको भन्ने विषयमा पनि आशंका व्यक्त गरेको छ । मृत्यु प्रमाणपत्रमा झुण्डिएको भनिएपनि दूतावासले यसमा आशंका प्रकट गरेको हो । यद्यपी आधिकारिक कागजातमा मृत्युको कारण झुण्डिएको भनिएका कारण दूतावासले त्यसलाई पत्याउनु पर्दछ द्धितिय सचिव कार्कीले भनेका छन् । उनले आत्महत्या गरेका मध्ये कतिपयले आफूलाई भनिए अनुसारको रोजगारी प्राप्त नगरेका कारण आत्महत्याको बाटो रोजेको हुनसक्ने अनुमान गरे ।
नेपाली अन्याय नसहने र आफ्नो अधिकारका विषयमा बोल्ने भएका कारण यसले सम्वन्धित अधिकारी वा सहकर्मीहरुसँग सम्वन्ध विग्रन सक्ने र यसले उनीहरुलाई नैराश्यता वा अन्य मानसिक समस्यामा पार्न सक्ने आत्महत्याको एक कारण हुन सक्ने कार्कीको भनाई छ । उनले श्रमिकलाई काठमाडौंबाट प्रस्थान पूर्व नै मनोसामाजिक परामर्श समेत आवश्यक रहेको पनि बताए ।