‘महानायिका’ घोषित भइन करिश्मा



चलचित्र क्षेत्रमा लामो समय अभिनय गरेर योगदान दिएकी नायिका करिश्मा महानायिका घोषित भएकी छन् । शनिवार आरके ईन्टरटेन्टमेन्ट ग्रुपद्वारा आयोजित प्रतिभा सम्मान कार्यक्रममा उनी महानायिका घोषित भएकी हुन् ।

महानायक राजेश हमाल र सूचना तथा प्रविधि सञ्चार मन्त्री पार्वत गुरुङले क्राउन तथा माला पहिराएर उनलाई महानायिका घोषित गरेका हुन् । महानायिका घोषित भएपछि कलाको सम्मान गर्दै आफूलाई महानायिका घोषित भएकोमा नायिका करिश्माले खुसी व्यक्त गरेकी छन् ।

साथै उनले आयोजक टिमलाई पनि धन्यवाद दिएकी छन् । कार्यक्रममा महानायक राजेश हमाल, सूचना तथा प्रविधि सञ्चार मन्त्री पार्वत गुरुङ,वरिष्ठ चिकित्सक भोला रिजाल,चलचित्र निर्देशक तथा निर्माता नीर शाह,उज्यालो अभियन्ता कुलमान घिसिङ लगायतका व्यक्तिहरू उपस्थित भएका थिए ।

नेपाली चलचित्र क्षेत्रमा महानायक र महानायिकाको विवाद लामो समयदेखि चल्दै आइरहेको छ । केही व्यक्तिहरुले भने एउटा संस्थाले घोषणा गर्दैमा कलाकारहरु आम नेपालीहरुको महानायक/महानायिका नहुने तर्क गर्छन् । ती व्यक्तिहरुको तर्कलाई पनि वेवास्ता गर्न भने मिल्दैन ।

प्रकाशित मिति : २०७७ माघ २५ गते आइतवार