नेपालका पर्वतारोही तेन्जिङ नोर्गेबारे चलचित्र बनाउने ओबामा दम्पतीको घोषणा



विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति नेपालका तेन्जिङ नोर्गे शेर्पाबारे अमेरिकामा चलचित्र बन्ने भएको छ। अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा र मिसेल ओबामाको कम्पनी ‘हाइयर ग्राउन्ड’ले सन् २००३ मा इद डग्लासले लेखेको पुस्तक ‘तेन्जिङः हिरो अफ एभरेस्ट’ पुस्तकको आधारमा चलचित्र बनाउने घोषणा गरेको हो।

द भल्चर डटकमका अनुसार बाराक र मिसेलको कम्पनीले निर्माण गर्न लागेको चलचित्रको नाम ‘तेन्जिङ’ हुनेछ। यसको निर्देशन जेनिफर पिदोम र लुक डेभिसले गर्नेछन्। ओबामा दम्पतीको कम्पनीले निर्माण गर्ने चलचित्र नेटफ्लिक्समा सार्वजनिक हुनेछ।

तेन्जिङ नोर्गे शेर्पा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने विश्वकै सबैभन्दा पहिलो व्यक्तिमा पर्दछन्। बेलायती आरोहण समूहमा शेर्पाहरूको सरदार भै सगरमाथा आरोहण गरेका तेन्जिङ र अर्का आरोहि एडमण्ड हिलारी सन १९५३ मे २९ तारिखको बिहान ११:१५ बजे सगरमाथा शिखर पुग्ने प्रथम (संयुक्त) आरोहि हुन्। तेन्जिङको जन्म् १९१४मा थ्याङबोचेमा भएको अनुमान गरिएको छ। (यिनको जन्म नाम : नामग्याल वान्ग्दि शेर्पा हो ) र उनी ९ मे १९८६मा भारतको दार्जिलिङमा दिवंगत भए।

२०१० जेठ १६ गते विश्वकै अग्लो शिखर सगरमाथा आरोहण गरेर फर्किएका तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीको स्वागतार्थ काठमाडौँमा सम्मान कार्यक्रम भयो।

इतिहास शिरोमणि बाबुराम आचार्यको संयोजकत्वमा तेन्जिङ शेर्पा स्वागत समिति गठन गरिएको थियो। बनेपादेखि खुला जिपमा काठमाडौँ ल्याइएका सगरमाथा आरोहीद्वय शेर्पा र हिलारीलाई डिल्लीबजारको उकालोबाट बग्गीमा नगर परिक्रमा गराई वसन्तपुर गद्दी बैठकमा अभिनन्दन गर्ने कार्यक्रम थियो। बग्गीको दायाँ-बायाँ र अगाडि-पछाडि रिसल्ला, मोटरसाइकल र सैनिक ब्यान्डबाजाको प्रबन्ध मिलाईएको थियो।

सबैभन्दा अगाडि दुई महिला घोडचढी रिसल्लाद्वारा लस्करको अगुवाइ गर्ने कार्यक्रम थियो। एकैनासको पहिरन थियो, हलुका र आकर्षक । घोडा चढ्दा असजिलो नहोस् भनेर सर्ट-फ्रकसहित शिरमा फेटा बाँधिएको थियो र छड्के चुन्नी पनि थियो। घोडचढीको अगुवाइमा जुलुसले सहरका विभिन्न भागको परिक्रमा गर्‍योट ।

सहरका मानिसहरूले ठूलो करतल ध्वनि र उत्साहका साथ जुलुसको स्वागत गरे। मुसलधारे वर्षा जसरी अबिर र फूलको वर्षा गरियो । हात हल्लाएर अभिवादन गर्नेहरूको लावालस्कर पनि लामै थियो। हामी वसन्तपुर दरबार पुगेपछि कन्या मन्दिरका छात्राले ‘छ स्वागत, छ स्वागत नेपालपुत्र लायक’ बोलको गीत गाएर स्वागत गरे।

ज्यादै आकर्षक ढङ्गले मञ्च सजाइएको थियो । तत्कालिन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले सगरमाथा आरोहीद्वयलाई त्यही मञ्चमा अबिर र माला लगाएर स्वागत गर्दै लामो मन्तव्य दिएका थिए। त्यसै दिन बेलुका दरबारका तर्फबाट उहाँहरूको सम्मानमा रात्रिभोजको आयोजना गरिएको थियो।

प्रकाशित मिति : २०७७ माघ २५ गते आइतवार