काभ्रेमा कांग्रेससहितका सयौं कार्यकर्ता ओली समूहमा नेकपामा प्रवेश



काभ्रे । मध्यावधी निर्वाचनको माहोर तात्दै गएको समयमा एक पार्टीबाट अर्को पार्टीमा प्रवेश गर्नेको लर्को नै लाग्न थालेको छ । यसै क्रममा काभ्रेपलाञ्चोक जिल्लामा दर्जनौं कांग्रेस लगायतका विभिन्न पार्टीका नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

बनेपा नगरपालिका-१० स्थित नेकपा वडा कमिटिको अगुवा कार्यकर्ता भेलाका अवसरमा शनिबार नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले नवप्रवेशीलाई खादा तथा टिका लगाएर पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको नेकपामा प्रवेश गरेका हुन् । अन्य पार्टीबाट गरेका करीब आठ दर्जन नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन् ।

मुलुकको विकास र समृद्धिको यात्रा साथै राष्ट्रिय स्वाधिनताको रक्षाको निम्ती प्रधानमन्त्री ओलीको आवश्कता अझ बढ्दै गएको उल्लेख गर्दै नवप्रवेशीले अबका दिनमा ओली नेतृत्वको नेकपामा समर्पित भई राष्ट्र निर्माणको महान् अभियानमा सारथी हुने उल्लेख गरे ।

पूर्वमन्त्री बाँस्कोटाले आगामी निर्वाचनमार्फत आउने नयाँ जनादेशले समृद्ध नेपाल सुखी नेपाली बनाउने बताउनुभएको छ । उहाँले निर्वाचनले राजनीतिक स्थायित्व आउने विश्वास व्यक्त गर्नुभयो ।उहाँले गत निर्वाचनका बेला गरेका प्रतिबद्धताअनुसारको काम नभए जनतासामु ‘कान समातेर उठबस’ गर्न तयार रहेको बताउनुभयो ।

“विकास र राजनीतिका विषयमा प्रतिपक्ष बनेकाले मेरोजति सामना गर्नु तयार हुनु”, नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका बाँस्कोटाले थप्नुभयो । नवप्रवेशीलाई आवश्यकता र क्षमताको आधारमा उचित स्थान दिने नेता बाँस्कोटाले बताउनुभयो ।

प्रकाशित मिति : २०७७ माघ २५ गते आइतवार