लोकसेवा आयोगका परीक्षामा बहिनी पहिलो, दाजु दोस्राे



माघ १३ गते पूर्णिमा उपाध्यय, उनका दाजु केशव उपाध्यय र उनको सिंगो परिवारका लागि अविस्मरणीय रह्यो । यसको कारण थियो लोकसेवा आयोगले लिएको परीक्षामा पूर्णिमाको नाम पहिलो नम्बरमा र उनका दाजु केशव उपाध्ययको नाम दोस्रो नम्बरमा निस्कियो । यी दुई दाजुबहिनी उपसचिव पदका लागि आयोगले लिएको आन्तरिक प्रतिस्पर्धाका परीक्षार्थी थिए ।

शाखा अधिकृतबाट उपसचिव तहमा बढुवा हुनका लागि यिनीहरूले आन्तरिक प्रतिस्पर्धा गरेका थिए तर परिणाम बहिनीको नाम पहिलो स्थानमा र दोस्रो नम्बरमा दाजुको नाम निस्क्यो । त्यसो त, पूर्णिमाको दिदी टीका उपाध्यय पनि निजामती सेवामै छन् । टीका आन्तरिक राजस्व विभाग लैनचौरमा शाखा अधिकृत पदमा कार्यरत छिन् । ५ दाजु भाइमध्ये ३ जना सदस्य निजामती सेवामै कार्यरत छन्, त्यो पनि लोकसेवा आयोगका परीक्षा पास गरेर ।

पूर्णिमा र केशवको बुवा सरकारी शिक्षक हुन्, आमा गृहणी हुन् । हालै मात्र उनले शिक्षक पदबाट अवकाश लिएका छन् । आफ्नो बाबु र आमाबाट सरकारी सेवामा प्रवेश गर्ने उत्प्रेरणा लिएको पूर्णिमा बताउँछिन् । ‘लोकसेवा आयोगको परीक्षामा भनसुन हुँदैन भन्ने थाहा थियो । त्यसमा पनि समाजमा निजामती कर्मचारीहरूको छबि माथि नै हुन्छ,’ पूर्णिमा भन्छिन्, ‘त्यसैले मिहेनत गरेरै भए पनि लोकसेवा आयोगको परीक्षा दिन्छु र पास हुन्छु भन्ने लागेको थियो ।’ पूर्णिमा दाजु केशवलाई पनि निजामती सेवामा प्रवेश गर्ने उत्प्रेरणा बुवा आमाबाटै मिल्यो । यी दाजु–बहिनीले सल्लाह गरेर आन्तरिक प्रतिस्पर्धाका लागि फाराम भरेका थिए ।

पूर्णिमा अविवाहित हुन भने केशव विवाहित हुन् । उनको रोजाइ सरकारी कर्मचारी नै रहेको छ । केशवकी पत्नी हाल डोल्पाकी सानीभेरी नगरपालिकामा कार्यरत छन् । उनी स्थानीय तहकी कर्मचारी हुन् । ‘के तपाईंले आफ्नो पति पनि निजामती कर्मचारी नै होस् भन्ने चाहनुहुन्छ ?,’ भनी सोधिएको जिज्ञासामा पूर्णिमा खुलेर बोल्न चाहिनन् । यती मात्र भन्छिन्, ‘हेराैं के हुन्छ । अहिले म केही भन्दिन ।’

अहिले यी दुई दाजु–बहिनीले स्टाफ कलेज जावलाखेलले लिइरहेको ५ दिने अभिमुखीकरण तालिममा सहभागी भएका छन् । शाखा अधिकृतबाट उपसचिवमा बढुवा भएका कर्मचारीहरूलाई स्टाफ कलेजले अभिमुखीकरण तालिम दिने गर्छ । उपसचिवमा बढुवा हुनु अघि पूर्णिमा कालिकोटको जिल्ला निर्वाचका कार्यालयमा कार्यरत थिइन भने केशव कर्णाली अञ्चलको मुख्यमन्त्रीको कार्यालयमा कार्यरत थिए । पूर्णिमाले २०६९ माघबाट र केशव २०६६ सालबाट निजामती सेवामा प्रवेश गरेका हुन् ।

यी दुई दाजु–बहिनीको जागिरे जीवन लोकसेवा पास भएपछि मात्रै सुरु भएको हो । पूर्णिमाले सहलेखापालबाट जागिरे जीवन सुरु गरिन् भने केशवले कम्प्युटर अपरेटरबाट निजामती सेवामा प्रवेश गरे । पूर्णिमा सुरुमा सुर्खेतस्थित भूकम्प मापन केन्द्रमा कार्यरत थिइन् । सहलेखा पाल पदमा उनी धेरैलामो समयसम्म काम गरीनन् । त्यसपछि उनले शाखा अधिकृत पदमा फाराम भरिन् र २०७० भदौमा उनले लोकसेवा आयोगले लिएको शाखा अधिकृत पदमा उनी उत्तीर्ण भइन् । त्यसपछि उनको नियुक्ति जिल्ला प्रशासन कार्यालय सुर्खेतमा भएको थियो । नागरिक दैनिक बाट साभार

प्रकाशित मिति : २०७७ माघ २४ गते शनिवार