दुई दिनअघि जनता समाजवादी पार्टी (जसपा) का नेता शिवजी यादव नेकपा ओली समूहमा प्रवेश गरे । र, प्रवेशलगत्तै यादवले भने, ‘जसपामा एक-दुई दिनमा पहिरो जान्छ ।’
तत्कालीन संघीय समाजवादी पार्टीको पदाधिकारी रहेका यादव एक्कासि ओली समूहमा प्रवेश गर्लान् भन्नेचाहिँ जसपाका नेताहरूले सोचेका थिएनन् ।
अध्यक्ष उपेन्द्र यादवनिकट मानिएका यादव असन्तुष्ट भएको चर्चा पनि चलेको थिएन । बरु, संसद विघटनअघि अन्य दर्जन सांसदको नाम चर्चामा थियो । जसपा स्रोतका अनुसार प्रधानमन्त्री ओलीले जसपाका अन्य एक दर्जन नेताहरूमाथि नजर लगाएका छन् । जसलाई केही दिनभित्रै पार्टी प्रवेश गराउने प्रयासमा छन् ।
प्रदेश २ मा आफ्नो उपस्थिति बलियो गराउने प्रयासमा रहेका ओली जसपाका नेताहरू त्यसमा पनि उपेन्द्र यादवनिकटलाई तान्ने प्रयासमा छन् । अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो ओलीको प्रतिनिधिसभा विघटनप्रति तटस्थजस्तो देखिन्छन् । महतोले शिलापत्रसँग भनेका छन्, ‘प्रतिनिधिसभा पुनःस्थापनाले समस्या समाधान गर्दैन ।’
त्यसैले जसपामा बलियो देखिएको उपेन्द्र यादवको समूहलाई विभाजित गर्ने प्रयासमा ओलीले त्यस समूहका नेताहरूलाई भित्र्याउने प्रयास गरेका हुन् । जसपा स्रोतकाअनुसार विमल श्रीवास्तव, प्रदीप यादव, रेणु यादव, उमाशंकर अरगरियालगायतका नेताहरूलाई ओलीले पार्टी प्रवेश गराउने तयारी गरेका छन् ।
त्यसमा राजपाका पूर्वअध्यक्ष राजकिशोर यादव पनि रहेको स्रोतको दाबी छ । यो समूहले पटक-पटक ओली समूहसँग छलफल गरेका छन् । अपहरण काण्डले चर्चा बटुलेका सुरेन्द्र यादव पनि ओली समूहमा प्रवेशका लागि छलफलमा छन् ।
राजकिशोर यादव नेकपा प्रवेश गर्ने पार्टीभित्र चर्चा भए पनि यो विषय कल्पना पनि गर्न नसक्ने उनी बताउँछन् । पार्टीभित्र आफ्नो राजीनिक चरित्र हत्या गर्न यस्तो हल्ला चलाएको हुनसक्ने उनको प्रतिक्रिया छ ।
‘प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक भएको भन्ने कुरामा म प्रस्ट छु । त्यसकारण असंवैधानिक कदम चाल्ने पार्टीमा प्रवेश गर्ने कल्पना नृ गर्न सकिँदैन । मेरो राजनीतिक चरित्र हत्या गर्न हल्ला चलाइएको हो’ उनको भनाइ छ ।
Shikhar InsuranceLiberty College
श्रीवास्तवले प्रतिनिधिसभा विघटनअघि नै जसपाबाट करिब १२ जना सांसद बोकेर नयाँ पार्टी बनाउने र ओली समूहमा समाहित हुने प्रयास गरेका थिए । तर, त्यतिबेला राजनीतिक दलसम्बन्धी ऐनको दफाले रोकेको थियो । ऐनले संसद् र केन्द्रीय समिति दुवैतिर ४० प्रतिशत संख्या चाहिने व्यवस्था गरेको छ ।
तर, केन्द्रीय समितिमा श्रीवास्तवले ४० प्रतिशत पुर्याउने सम्भावना थिएन । त्यसैले त्यतिबेला रोकिएका श्रीवास्तवलाई अहिले बाटो खुला भएको हो ।
स्थानीय निर्वाचनका बेला राजपाबाट वीरगञ्ज महानगरको मेयरमा टिकट नपाएपछि विजय गच्छदारको लोकतान्त्रिक फोरमबाट मेयरको उम्मेदवार भएका थिए, श्रीवास्तव । मेयरमा पराजित भएपछि संघीय समाजवादीमा प्रवेश गरेर श्रीवास्तवले प्रतिनिधिसभाको टिकट हात परेका हुन् ।
जसपाका एक केन्द्रीय कार्यकारिणी सदस्यले दिएको जानकारीअनुसार श्रीवास्तवले ४० प्रतिशत सांसदको संख्या पुर्याएर पार्टी विभाजनको प्रयास गरेका थिए । त्यतिबेला उनीसँग करिब ३० प्रतिशत संख्या पुगिसकेको थियो । ३४ जना सांसद रहेको जसपामा श्रीवास्तवले ११ जनाको साथ पाएका थिए ।
श्रीवास्तव संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिसमेत थिए । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनले पहिला पनि पार्टी विभाजनको भूमिका खेलेका थिए ।
प्रदीप यादव संसादको हैसियतमा गत वर्ष स्वतन्त्र तिब्बतको कार्यक्रम सहभागी हुन लिथुनिया गएपछि विवादमा तानिएका थिए । गत वैशाखमा रेणु यादव, मोहम्मद इस्तियाक राई, विमल श्रीवास्तव, सुरेशकुमार यादवलगायतका नेताहरू सक्रिय थिए । त्यतिबेला यादवले विभाजनका लागि सक्रिय र नेतृत्वदायी भूमिका खेलेकी थिइन् । तर, अहिले विमल श्रीवास्तव सक्रिय रहेको जसपाका एक पदाधिकारीले दाबी गरे ।
वैशाखमा पार्टी विभाजन गर्न नसकेका श्रीवास्तव पार्टी एकतापछि जसपाको केन्द्रीय सदस्य पनि बन्न सकेनन् । विभाजनको खेलमा संलग्न भएको भन्दै अध्यक्ष उपेन्द्र यादवले श्रीवास्तवको नाम केन्द्रीय सदस्यका लागि सिफारिस नै गरेनन् । त्यसपछि झन् रुष्ट भएका श्रीवास्तव ओली समूहमा प्रवेश गर्न खोजेको जसपाका नेताको दाबी छ ।
१० वैशाख २०७७ मा राजपा र संघीय समाजवादी पार्टीले रातारात एकता गरेका थिए । तीन दिनअघि ७ वैशाखमा दल विभाजनका लागि सहज हुने गरी सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि संघीय समाजवादी पार्टी विभाजनको डिलमा पुगेको थियो ।
विभाजनका लागि समाजवादी दलका नेताहरू यादव, राई, श्रीवास्तवलगायतका नेता सक्रिय रूपमा लागेका थिए । सरकारले ल्याएको अध्यादेशले संसदीय दलमा ४० प्रतिशत सांसद भए वा केन्द्रीय समितिमा ४० प्रतिशत संख्या पुग्ने अवस्थामा दल विभाजन गर्न सकिने व्यवस्था गरेको थियो । त्यही आधारमा समाजवादी दलका केही नेताहरूको प्रयासमा ४० प्रतिशत सांसद पुग्ने अवस्था आएको थियो ।
त्यो संख्या पुर्याउन नदिन राजपा र समाजवादी पार्टीबीच रातारात एकताको घोषणा गरियो । जसले गर्दा यादव, श्रीवास्तव र इस्तियाकहरूको प्रयास सफल नभएको हो । त्यतिबेलादेखि नै सुषुप्त अवस्थामा रहेको त्यो चाहना जनता समाजवादी पार्टीमा प्रकट हुन थालेको नेताहरूको भनाइको छ । अहिले यो विषयमा जसपाका नेताहरू औपचारिक रूपमा बोल्न भने मानिरहेका छैनन् ।