स्थायी शिक्षकको विज्ञापन गर्ने यस्तो बन्यो नयाँ ब्यबस्था, प्रदेश र जिल्लालाई के-के छ अधिकार ?



काठमाडौ । गत वर्षको असोजमा संशोधन भएको शिक्षक सेवा आयोग (दशौँ संशोधन) नियमावलीले नयाँ संरचना अनुसार विज्ञापन गर्नुपर्ने व्यवस्था गरेसँगै शिक्षक सेवा आयोगले पनि त्यसै अनुसार विज्ञापन गर्ने भएको हो । अब आयोगले नयाँ संरचनामा शिक्षकको विज्ञापन गर्ने भएको टुंगो लागेको हो ।

नियमावलीमा व्यवस्था गरिए अनुसार आयोगले माध्यामिक र निम्न माध्यामिक तहको विज्ञापन प्रदेशस्तरमा र प्राथमिक तहको विज्ञापन जिल्लास्तरमा गर्नेछ । यसअघि भने, माध्यामिक र निम्न माध्यामिक तहको विज्ञापन विकास क्षेत्र अनुसार र प्राथमिक तहको विज्ञापन जिल्ला अनुसार गरिदै आएको थियो । अब नियमावली संशोधन भएसँगै निम्न माध्यमिक र माध्यमिक तहको हकमा आयोगले अब रिक्त शिक्षकको पदपूर्ति प्रदेशस्तरमा गर्नेछ ।

साथै नियमावलीले आयोगले रिक्त शिक्षक पदपूर्ति गर्न आवश्यक विवरण खुलाई राष्ट्रियस्तरको पत्रपत्रिकाको माध्यमबाट विज्ञापन गराउनु पर्ने उल्लेख गरेको छ । नियमावलीमा आयोगले शिक्षक नियुक्तिलाई व्यवस्थित गर्न विभिन्न चरणमा विज्ञापन गर्न सक्नेछ भन्ने व्यवस्था पनि उल्लेख गरिदिएको छ ।

नियमावलीमा भनिएको छ, ‘आयोगले रिक्त शिक्षक पदपूर्ति गर्न आवश्यक विवरण खुलाई राष्ट्रियस्तरको पत्रपत्रिकाको माध्यमबाट विज्ञापन गराउनु पर्नेछ । यसरी विज्ञापन गर्दा प्राथमिक तहको हकमा जिल्लागत निम्नमाध्यामिक तहको हकमा प्रदेशस्तरमा विज्ञापन गर्नु पर्नेछ ।’ अब यो ब्यबस्था अनुसार विज्ञापन हुने छ।

प्रकाशित मिति : २०७७ माघ २२ गते बिहिवार