आन्दोलनकरीहरुमाथि कारबाहीमा उत्रने सुरक्षाकर्मीलाई नोटिसमा राख्ने छौं : योगेशकुमार भट्टराई



काठमाडौं । नेकपा प्रचण्ड माधव पक्षको केन्द्रीय संघर्ष समितिले अनेरास्ववियूका नेता प्रसुन कार्कीलाई प्रहरीले कुटपिट गरेको घटनाको भर्त्सना गरेको छ। केन्द्रीय संघर्ष समितिका प्रवक्ता योगेशकुमार भट्टराईले सोमबार प्रेसनोट जारी गर्दै कार्कीमाथि भएको घटनाको निन्दा गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको असंवैधानिक र प्रतिगामी कदमविरुद्ध आयोजित शान्तिपूर्ण कार्यक्रममा सहभागी नेता कार्कीलाई प्रहरीले पक्राउ गरी कुटपिट गरेको भट्टराईको दाबी छ ।

उनका अनुसार प्रहरीको कुटाइबाट कार्कीको आँखा र अनुहारमा गहिरो चोट लागेको छ। ‘यस्तो निन्दनीय कार्य गर्ने प्रहरीमाथि कार्वाही गर्न माग गर्दछौं । आन्दोलनकरीहरुमाथि कारबाहीमा उत्रने कुनै पनि ब्यक्ति र सुरक्षाकर्मीका बारेमा पार्टीको संघर्स समितीले नोटीसमा राख्ने जानकारी समेत गराउदछौं,’ प्रेसनोटमा उल्लेख छ ।

ज्ञानेन्द्रले नारायणहिटी छोडेजस्तै बालुवाटार छोड्नुपर्दा ओलीको होस खुल्छः प्रकाशमान सिंह
काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओली ज्ञानेन्द्रपथमा हिँडिरहेको आरोप लगाएका छन् । संसद विघटनविरुद्ध काँग्रेस भ्रातृसंगठनद्वारा काठमाडौंमा आयोजित विरोधसभामा बोल्दै उनले संसदमा विश्वासको मत लिने आँट नगरेर ओलीले ज्ञानेन्द्रपथ रोजेको बताए ।

नेता सिंहले आम नेपाली जनताले सडकबाट दबाव दिएपछि ओलीको होस खुल्ने बताउँदै उनले भने, ‘ज्ञानेन्द्रले नारायणहिटी छोडेर गएजस्तै बालुवाटर छोड्नुपर्दा ओलीको होस खुल्छ ।’ राजाको पालामा शाही आयोगलाई असंवैधानिक ठहर गरेको सर्वोच्च अदालतले अहिलेको ओलीको कदमलाई पनि सच्याउने विश्वास व्यक्त गरे ।

ओली सरकारले हुँदै नभएको अधिकारलाई दुरूपयोग गरेर, जनभावना विपरित संविधान कुल्चेर संसद विघटन गरेको नेता सिंहको दावी छ । उनले ओलीको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र बदनियतपूर्ण बताउँदै यसले लोकतन्त्रमाथि प्रहार भएको बताए ।

संविधान मिचेर निर्वाचनको ललिपप देखाएको आरोप लगाउँदै नेता सिंहले भएको संविधान मिचेर अन्तर्राष्ट्रिय अभ्यासको पाठ सिकाउँदै हिँड्ने काम गलत भएको बताए । प्रतिनिधिसभा सामना गर्ने हिम्मत नभएका ओलीले जनता छक्याउन निर्वाचनको बहाना रचेको उनको भनार्इ छ । ओलीले आफू तानाशाह बन्नका लागि प्रतिनिधिसभा भङ्ग गरेको उनको जिकिर छ ।

संविधानको विशेषता शक्ति सन्तुलन भएकाले यसलाई सुधार गरी चेक एण्ड ब्यालेन्समा राख्ने काम न्यायपालिकाको भएको नेता सिंहको भनाइ छ । सरकारले सत्तामा पुगेपछि आसेपासे पोस्ने गरेको आरोप लगाउँदै उनले नेकपालाई नामको मात्र कम्युनिस्ट पार्टी भएको बताए ।

प्रकाशित मिति : २०७७ माघ २० गते मङ्गलवार