
काठमाडौं- अध्ययन, अभ्यास र साधनाले मात्रै राम्रो सर्जक, कलाकार वा रंगकर्मी बन्न सकिन्छ। साधना जीवनपर्यन्त चलिरहने प्रक्रिया हो। त्यसैले दिग्गज कलाकारहरु जीवनको अन्तिम घडीसम्म साधनामै हुन्छन्। गीतसंगीत, रंगमञ्च वा साहित्यमा लागेका मानिस सधैं साधना, अभ्यास वा अध्ययनमै केन्द्रित हुन्छन्।
साधनाले राम्रो सिर्जना तयार हुन्छ, जुन सिर्जना सार्वजनिक भएपछि सर्जकको होइन सबै भावक र देशकै सम्पत्ति बन्छ। उत्कृष्ट सिर्जनाका लागि सर्जकहरु कडा मेहनत गर्छन्। स्वर सम्राट् नारायणगोपाल र उनको समूहले एउटा गीत तयार गर्न महिनौं लगाउँथे भन्ने चर्चा उनका समकालीनले गर्छन्।
उति बेला गीतकारले शब्द तयार गरेपछि संगीतकारहरु महिनौंसम्म हार्मोनियम वा तानपुरामा हराइरहन्थे। गायकहरु महिनौंको साधनापछि बल्ल स्टुडियोमा पुगेर गीत रेकर्ड गर्न तयार हुन्थे। पछिल्लो समय नेपालमा मनोरञ्जन क्षेत्रमा एउटा अनौठो शैली भित्रिएको छ, त्यो हो भाइरल अनुहारलाई रातो कार्पेट।
कोही मानिस आफ्नो समस्याका कारण वा अनौठो जीवनशैलीका कारण भाइरल हुन्छन्। सहज प्रविधि र न्यु मिडियाका कारण महिनैपिच्छे नयाँनयाँ व्यक्तिहरु कुनै न कुनै कारणबाट भाइरल बनिरहेका हुन्छन्। तिनै व्यक्ति मनोरञ्जन क्षेत्रमा भाइरल सेलिब्रेटीका रुपमा प्रवेश गर्छन्। कतिपय त आफ्नो घरबार बिग्रिएका, परिवारमा अशान्ति भएका समस्या सुनाउन सञ्चारमाध्यम खोज्दै आइपुगेका पनि ‘युट्युब मिडिया’ हुँदै भाइरल र त्यसपछि सेलिब्रेटी बन्ने गरेका पनि छन्।
केही वर्षअघि नेपालमा एक युवती भाइरल बनेकी थिइन्। व्यावसायिक तरकारी खेती गर्ने परिवारकी कुसुम श्रेष्ठ डोकोमा तरकारी बोकेर हिँडिरहेका बेला एकजनाले उनको तस्बिर लिएर सामाजिक सञ्जालमा राखे। त्यसै कारण उनी ‘तरकारीवाली’ भएर भाइरल बनिन्। उनले एउटा फिल्म तथा केही म्युजिक भिडियोमा पनि अभिनय गरिन्। कतिपयले ‘तरकारीवाली’ शब्द जोडेर गीत बनाए। केही समयपछि उनी हराइन्।
कोरोना महामारीका कारण गत वर्षदेखि गरिएको लकडाउनकै समयमा अर्जुन विक नाम गरेका एक व्यक्ति बच्चालाई पिठ्युँमा बोकेर रिक्सा चलाउँदा कसैले खिचेको तस्बिरका कारण भाइरल बने। भाइरल बनेपछि उनी थुप्रै गीतमा मोडलका रुपमा देखा परे। केही गीत गाए पनि। कतिपयले उनको जीवनकै गीत बनाइदिए। तिनै अर्जुनले केही समययता एउटा फौजदारी मुद्दा खेपिरहेका छन्।
अचेल गुल्मीका ९ वर्षीय बालक सचिन परियार संगीत क्षेत्रको टेको बन्न आइपुगेका छन्। कुराकानी गर्ने मायालु शैलीका कारण युट्युब भिडियोबाट भाइरल बनेका सचिन अहिले गीत गाउन र अभिनय गर्न व्यस्त छन्। उनले गाएका र अभिनय गरेका गीत लगातार युट्युबको ट्रेन्डिङमा छन्। उनले केही हास्य शृंखलामा अनियनसमेत गरिसकेका छन्।
अत्यन्तै मिठो स्वर भएका कारण उनी गीतमा आएका होइनन्, उनी अभिनयमा अत्यन्तै राम्रो भएका कारण हास्य शृंखलामा पुगेका होइनन् । संगीत क्षेत्रमा आउने उनको मूल योग्यता भाइरल हुनु हो। केही दिनयता युट्युबको ट्रेन्डिङमा हेर्ने हो भने सचिनको स्वर वा अभिनय रहेका आधा दर्जनभन्दा बढी सामग्री छन्।
सचिनजस्तै थुप्रै बालबालिका अहिले मनोरञ्जन क्षेत्रमा यसरी नै आइरहेका छन्। तीमध्ये कतिपय मिठो स्वरका कारण, कतिपय दोहोरीमा सवालजवाफ गर्न सकेका कारण सामाजिक सञ्जालमा भाइरल हुँदै यस क्षेत्रमा भित्रिएका हुन्। संगीत क्षेत्रमै रुचि भएका, यसमै मेहनत गरिरहेका कतिपय बालबालिका बालकलाकारकै रुपमा स्थापित हुँदै पनि छन् तर सबैको हकमा यस्तो छैन।
आफ्नो केही अतिरिक्त प्रतिभाका कारण सामाजिक सञ्जालमा मन पराइएका अरु कतिपयलाई उनीहरुको थप विकासक्रममा बाधा नै पुग्नेगरी मनोरञ्जन क्षेत्रमा भित्र्याइएको छ। जसका कारण केही समयपछि उनीहरु भाइरलबाट ‘गुमनाम’ हुने क्रम पनि उत्तिकै छ। कसले कस्तो काम वा कुन क्षेत्रमा काम गर्ने भन्ने कुरा उसको क्षमता, योग्यता र रुचिको कुरा हो। तर जुनैसुकै खालको सबल वा दुर्बलताका कारणले भाइरल भएको व्यक्तिलाई सीधै संगीत क्षेत्रमा प्रवेश गराई लाभ लिन थालिएको छ।
भाइरललाई प्रयोग गरेर तयार गरिएका सांगीतिक सामग्रीको युट्युब भ्युज बढी हुने वा कमाई राम्रो हुने गरेको भए पनि गुणस्तर भने कमजोर हुने गरेको छ। भाइरल गायकगायिकामध्ये कतिपयले आफ्नो पढाइलेखाइ पनि बीचमै छाड्ने हुँदा उनीहरुको व्यक्तित्व विकासमा समेत असर पुग्ने गरेको छ। सामाजिक सञ्जालमा भाइरल भएका व्यक्तिहरु छोटो समयमै संगीत क्षेत्रमा आउने गरेका छन्।
यही कारण संगीतको साधना वा संगीतप्रति मानिसको सम्मान पनि खस्कँदै गइरहेको पाइन्छ। त्यसैले कतिपयले भन्ने गरेको सुनिन्छ, ‘जे पनि गीत हुन थाले, जो पनि गायक बन्न थाले।’ जीवनको अधिकांश समय संगीत साधनामा खर्चिएका संगीतकर्मीहरु आफ्नो सिर्जना धेरैभन्दा धेरै मानिसको बीचमा पुर्याउन कडा मेहनतमा जुट्नुपर्छ। त्यसका लागि उनीहरुले ठूलै लगानी गर्नुपर्ने अवस्था छ।
सबै राम्रा सामग्री सजिलै युट्युब ट्रेन्डिङमा आउँदैन। युट्युबको ट्रेन्डिङमा नआएका सामग्रीबाट लाभ लिन पनि कलाकारलाई समस्या छ। कुनै सामग्री ट्रेन्डिङमा नपरे पनि आम रुपमा लोकप्रिय बनिरहेका हुन्छन् नै तर कमाइसँगै चर्चाका लागि युट्युब ट्रेन्डिङ पनि कतिपयका लागि प्रतिष्ठाको विषय बन्ने गरेको छ। तर ट्रेन्डिङ भाइरल सेलिब्रेटीको क ब्जामा जान थालेपछि वर्षौं यस क्षेत्रमा साधना गरेकाहरुले विभिन्न समयमा निराशा पोख्ने गरेका छन्।
कुनै सिर्जनाका मेहनत गर्नुपर्छ र सफलताका लागि धैर्य रहनुपर्छ तर कुनै उट्पट्याङबाट भाइरल बन्ने र भाइरलबाट सेलिब्रेटी बन्ने मनोकांक्षा पो बढ्दै जाने हो कि यो चिन्ताको विषय बनेको छ। रविन्द्र सुवेदी nepal samaya