
काठमाडौं | प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाले नारायणहिटी दरबार अगाडि आमसभा गर्ने भएको छ । माघ २३ मा आयोजना गरिएको आमसभा नारायणहिटीको गेट अगाडि राखिएको बागमती प्रदेश अध्यक्ष एवं आमसभा तयारी सचिवालयका प्रमुख आनन्द पोखरेलले जानकारी दिनुभएको हो । पोखरेलका अनुसार भृकुटीमण्डप अगाडि सभा गर्दा मान्छे थोरै अट्ने भएकाले नारायणहिटी दरबार अगाडि राखिएको हो । प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने उक्त सभा नारायणहिटी दरबार संग्रहालयको दक्षिण ढोकातर्फको सडकमा आयोजना हुनेछ ।
सभामा काठमाडौंका साथै प्रदेशका १३ वटै जिल्लाबाट मानिस ल्याइनेछ । प्रदेश कमिटीका सचिव खेमप्रसाद लोहनीले सभाका लागि ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नारा तय गरिएको छ । माइतीघर मण्डल, त्रिपुरेश्वर, जमल, पुतलीसडक, घण्टाघरलगायत स्थान विभिन्न नेताको नेतृत्वमा जुलुस आउने पनि जनाइएको छ । माघ २१ गते भने काठमाडौंमा १० हजार मोटरसाइकलको र्याली गरिने पनि नेकपा ओली समूहले जनाएको छ ।
उता, नेकपा दाहाल समूहका नेताहरूले भने ओलीले हिन्दूवादी र राजावादीहरूसँग मिलेर नारायणहिटी अगाडि सभा गर्न लागेको आरोप लगाएका छन् । आइतबार माइतीघरमा आयोजित कार्यक्रममा नेता सुरेन्द्र पाण्डेले ओली कम्युनिष्ट नरहेको आरोप लगाउँदै भने, अस्ति पशुपतिमा गएर सवा लाख बत्ती बाले, हिजो चितवनमा गएर राम मन्दिर बनाउने घोषणा गरेर आएका छन् । नयाँ मठाधीश बनेर ओलीले जनतालाई अल्मल्याउने कोशिश गरिरहेका छन् ।
यी छ नेताको यस्तो छ तयारी
देशमा राजनीतिक ध्रुवीकरण तिव्र हुँदा प्रमुख तीन दलका नेताहरुको फरक समूहको बैठक बसेको छ । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड(माधव समूह, नेपाली काँग्रेसको रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाका अलावा जनता समाजवादी पार्टीका उपेन्द्र यादव र डा. बाबुराम भट्टराई समूह एक साथ बसेर भित्र भित्र तयारी गरेका हुन् ।
प्रचण्ड र माधव नेपालले पौडेल, सिटौला, यादव र भट्टराईसँग विभिन्न समयमा भेटिसकेका छन् । सबै नेताहरु प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा उभिएका छन् । हिजो पनि यो समूहका नेताहरुको बैठक बसेको छ । उनीहरु प्रतिनिधि सभा पुनःस्थापनामा केन्द्रित हुने गरी रणनीति बनाउन लागिपरेका हुन् । सर्वोच्च अदालतले पुनःस्थापनाको विपक्षमा फैसला सुनाएमा के गर्ने भन्नेबारे समेत यी नेताहरुको तयारी देखिएको छ ।
भरसक अदालतमाथि दबाब सृजना गर्ने र नभए सडक आन्दोलनमा जानेगरी तयारी भएको छ । विश्वस्त स्रोतका अनुसार पौडेल, सिटौला, यादव र भट्टराईले प्रचण्ड र नेपालसँग चुनावमा नजाने र विकल्पमा आन्दोलनमा केन्द्रित हुनेसम्मको छलफल गरिसकेका छन् । काँग्रेसभित्र सभापति शेरबहादुर देउवा पक्ष चुनावमा केन्द्रित हुन जोडबल गरिरहेको छ । देउवा प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा छैनन् । जनता समाजवादी पार्टीभित्र पनि महन्थ ठाकुर पक्षधर प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा छैनन् ।
दलहरुभित्रै संसद पुनःस्थापना कि नयाँ चुनाव भन्नेबारे विवाद भइरहँदा एजेन्डा समान हुनेहरुबीच बाक्लो भेटघाट र संयुक्त रणनीतिको तयारी भएको छ । ५ पौषमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको सिफारिश गरी राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेपछि दलहरुभित्रै नयाँ ध्रवीकरण बनेको हो । नेकपा विभाजन नै भएको छ । काँग्रेसभित्र संसद पुनःस्थापना कि चुनाव भन्नेमा विवाद छ । यस्तै विवाद जनता समाजवादी पार्टीभित्र पनि छ ।