
काठमाडौँ । नेपालमा माघ १४ गतेबाट कोरोना खोप अभियान सुरु भएको छ । अहिले देशभरका स्वास्थ्यकर्मी तथा कोरोना महामारीमा अग्रपंतिमा खटिएकाहरुलाई पहिलो चरणको खोप लगाउने कार्यक्रम चलिरहेको छ । कोरोना खोप लगाउनेमध्ये केहीमा स्वास्थ्य समस्या पनि देखिइरहेका छन् । दोलखामा कोभिड–१९ संक्रमण विरुद्धको कोभीसिल्ड लगाएकाहरु बिरामी पर्न थालेका छन् ।
सदरमुकाम चरिकोटस्थित चरिकोट अस्पताल र जिरी अस्पतालमा बुधबार पहिलो डोजको कोभीसिल्ड भ्याक्सिन लगाएका स्वास्थ्यकर्मीमध्ये केहीमा स्वास्थ्य मसस्या देखिएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार १४ गते खोप लगाएका १५५ जनामध्ये ५५ जना हिँडडुल गर्न नै नसक्ने गरी बिरामी परेका छन् । तर उनीहरुलाई अस्पताल नै भर्ना गर्नुपर्ने अवस्था भने नरहेको स्वास्थ्य कार्यालय जानकारी दिएको छ ।
धेरैजसोमा ज्वरो आउने समस्या देखिएको छ । केहीले बोल्न पनि कठिन भइरहेको बताएका छन् । बुधबार र बिहीबार लगाएको भ्याक्सिनको प्रभाव बारे शुक्रबार जिल्ला प्रशासनमा समिक्षा बैठकको आयोजना गरिएको थियो । बैठकमा दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले बुधबार र बिहीबार भ्याक्सिन लगाएका अधिकांशलाई ज्वरो आएको जानकारी दिएका थिए।