चिल्ला जुत्ता, सफा सडक : टुसुक्क बसेर धर्ना दिँदै प्रचण्ड-माधव



काठमाडौँ, १८ माघ । माइतीघर मण्डलास्थित सडक सफा देखिन्छ । काठमाडौँको मौसमले पनि साथ दिएर घाम झलमल्ल छ । त्यही घाम परेर टलक्क टल्किएका छन्- चिल्ला काला जुत्ता । अगाडि सेतो कपडामा रातो सूर्य चिह्न अंकित झण्डा फिँजाएर बसिरहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि जोकसैको नजर पर्नु स्वाभाविक हो । उनकाे दायाँबायाँ अर्का कथित अध्यक्ष माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ बसेका छन्- उस्तै चिल्ला जुत्ता टल्काउँदै ।

आरामले सडकमा सुस्ताएर घाम तापिरहेजस्तो देखिन्छन् एक हुल मानिसहरु । तिनीहरु हुन्— नेकपा (प्रचण्ड-माधव समूह) का नेता तथा विघटित संसदका सांसद, प्रदेश सभा-सदस्य र तत्कालीन संविधान सभाका सभासदहरु । बीचबीचमा राता तथा सेता झण्डाहरु उठेका छन् भने अगाडितिर सडकमा लामो ब्यानर बिछ्याइएको छ ।

ब्यानरमा लेखिएको छ– प्रतिनिधिसभा विघटनको असंवैधानिक एवं प्रतिगामी कदमका विरुद्ध धर्ना कार्यक्रम । हो, गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेकपाको यो समूह निरन्तर आन्दोलन तथा विरोधमा उत्रिएको छ । प्रधानमन्त्री साे कदम ‘प्रतिगामी एवं गैरसंवैधानिक’ भन्दै संसद पुनर्थापनाकाे मूल मागसहित ती विराेध कार्यक्रमहरू भइरहेका छन् ।

सोही सिलसिलामा तेस्रो चरणका कार्यक्रम अन्तरगत नेकपा प्रचण्ड–माधव समूहले आज पनि काठमाडौंस्थित माइतीघर मण्डलामा धर्ना जारी राखेको छ । धर्नामा उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, पम्पा भुसाल लगायत नेताहरु अग्रलहरमा बसेका छन् । संसद विघटन विरूद्ध प्रचण्ड–माधव समूहले यही माघ १४ गतेदेखि माइतीघरमा धर्ना दिँदै आएको छ ।

यसअघि पनि गत पुस १० गते प्रचण्ड, माधव लगायतका नेता कार्याकर्ताले माइतीघरकै चिसो सडकमा ‘हामी यहाँ छौँ’ अंकित प्ले कार्ड बोकेर धर्ना दिएका थिए । त्यसयता काठमाडौँमै दुईपटक ठूला विरोध सभा आयोजना गरिसकेको यस समूहले यही माघ २८ गते काठमाडौँमा अहिलेसम्मकै ठूलो विरोध प्रदर्शन गर्ने तयारी थालिरहेको छ । पुस १० गतेकाे धर्नमा प्रचण्डलगायत नेताहरू सडकमै बसिरहेकाे तस्वीरले निकै चर्चा पाएकाे थियाे । कतिपयले सत्तामा भाग नपाएर सडकमा बसेकाे भन्दै आलोचना पनि गरे ।

यही माघ १० गते त्नपार्कस्थित मूल सडकमा आयोजना गरिएको विरोधसभामा भने सडकमै शानदार सोफाहरु राखेर मञ्च बनाएको थियो । त्यसबेला भने सडकमै नवसामन्ती पाराको शान शौकत देखाएको भनेर प्रचण्ड लगायत नेताहरुको आलोचना भयो । उक्त विरोध सभा व्यवस्थापनमा केही कमजोरी रहेको भनी पछि अध्यक्ष प्रचण्डले एक सार्वजनिक कार्यक्रममा बताएका थिए ।

आज पुनः प्रचण्ड लगायत नेताहरु सडकमा टुसुक्क बसेर धर्ना दिइरहेका छन् । संसद विघटनपछि मूलतः नेकपाकै यो समूहले देशव्यापी विरोध कार्यक्रम गरिरहेको छ । ‘शक्ति प्रदर्शन’का नाउँमा विभिन्न ठाउँमा भेला तथा प्रदर्शन भएका छन् । उता सत्तामै रहेका नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उनी समर्थित समूहले पनि ‘शक्ति प्रदर्शन’कै नाउँमा भेला तथा प्रदर्शनहरु गर्दै आएको छ । यी दृश्यले औपचारिक रुपमा विभाजित भइनसके पनि नेकपाकै दुई समूहबीच मूठभेडको खतरा बढेको र मुलुकमा राजनीतिक अस्थिरता चुलिँदै जाने विश्लेषणहरु भइरहेका छन् ।

प्रकाशित मिति : २०७७ माघ १८ गते आइतवार