ओलीलाई प्रचण्डको प्रश्नः ७० करोड खानेहरूलाई उसले खाएकै होइन भन्दै जोगाउने को हो?



नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री केपी ओली उनका समर्थकले निरन्तर परिवारवादमा फसेको आरोप लगाइरहेका छन् । शुक्रबार विराटनगरमा पार्टीले आयोजना गरेको शक्ति प्रदर्शनका क्रममा दाहालले ओलीलाई जवाफ फर्काएका छन्। केही दिनअघि ओलीले प्रचण्डलाई पारिवारिक रुपमा लाञ्छना लगाएका थिए। ‘तपाईंहरूलाई थाहा छ, मैले लामो जनयुद्धको र त्यसपछि शान्ति प्रक्रियाको पनि नेतृत्व गरें, त्यो लामो आन्दोलनमा मेरा छोराछोरी अरु सरह लडे,’ उनले भने, ‘उनीहरू जनताबाट चुनिए। तर, केपी ओलीले जसरी धर्म छोराछोरी पालेर भ्रष्टाचारको पक्षपोषण गरिनँ।’

उनले सोधे, ‘७० करोड खानेहरूलाई उसले खाएकै होइन भन्दै जोगाउने को हो? देश कोरोनाको महामारीमा परेका बेला त्यसको औषधिमासमेत भ्रष्टाचार गर्नेलाई संरक्षण गर्ने हो हो?’ उनले आन्दोलनमा लडेर आफू र आफ्ना परिवारले गल्ती गरेको हो? भन्दै उपस्थित समर्थकलाई सोधे। भिड चिच्यायो ‘होइन…।’ आफ्नो परिवारका सदस्यमाथि ओलीले निरन्तर आक्रमण गरेको बताउँदै दाहालले ओलीको अत्याचार नसहने बताए।

दाहालले आवश्यक परे प्रतिनिधिसभाको बैठक बोलाउने चेतावनी पनि दिएका छन्। संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको तर आफूहरुलाई प्रतिनिधिसभाको बैठक गर्ने अधिकार संविधानले दिएको भन्दै दाहालले यस्तो चेतावनी दिएका हुन्।

‘जरुरी पर्‍यो भने हामी संसद् बैठक बोलाउने छौं,’ दाहालले भने, ‘त्यो अधिकार हामीलाई संविधानले दिएको छ।’ प्रधानमन्त्री ओली प्रतिक्रान्तिकारीहरूको गोटी बनेको आरोप लगाउँदै उनले यस्तो यात्रा लामो नजाने घोषणा गरे। संसद विघटन गरेर ओलीले संविधान विघटनको प्रयास गरेको भन्दै दाहालले थपे, ‘नेपालको इतिहासमै पहिलोपटक जनताका प्रतिनिधिले बनाएको संविधानमाथि उनले हमला गरेका छन्। यो जनताको सार्वभौमिकतामाथिको हमला हो।’

आन्दोलनले देशव्यापी उभार पाएको उल्लेख गर्दै दाहालले आफूले केपी ओलीको खुट्टी नापेको पनि बताए। ‘ओलीको खुट्टी कस्तो र कत्रो छ, मैले जानिसकेको छु,’ उनले भने, ‘त्यसैले अब धेरै फुर्ती नलाए हुन्छ।’

प्रकाशित मिति : २०७७ माघ १७ गते शनिवार