लेखराजविरुद्ध प्रचण्डको आक्रोश : ‘पटक–पटक मन्त्री बनाएँ, अहिले केपीको वरिपरि घुम्ने दलाल भए’



काठमाडौं | नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको धनगढी पुगेर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टविरुद्ध अभिव्यक्ति दिएका छन् । धनगढीमा शनिबार आयोजित विरोध सभामा प्रचण्डले मन्त्री भट्टमाथि गम्भीर आरोप लगाउँदै आफूले हुर्काएको व्यक्ति दलालको पनि दलाल भएको टिप्पणी गरे ।

नेकपा विभाजन हुँदा प्रचण्ड पक्षलाई छाडेर भट्ट प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेका छन् । ‘मैले हुर्काएको मान्छे, मैले पनि सुदूरपश्चिमको नायक भन्थें । कता हो कता सोच्नै नसक्ने गरी गए । पटक–पटक मन्त्री बनाएँ, अहिले त उनी केपीको वरिपरि घुम्ने दलाल भए । पत्याइ नसक्नु भयो । मलाई डर भएको थियो, अरु पनि विचलित भएर कुद्नु हुन्छ कि भनेर । दुईचार रात टेन्सन भएको थियो,’ उनले भने, ‘तर ९५ प्रतिशत कार्यकर्ता उता गएका छैनन् । बरु मलाई नयाँ शक्ति सुदूरपश्चिमबाट ऊर्जा पैदा भएको छ ।’

अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले फैसला सुनाउँदै प्रतिनिधिसभा संसद पुनर्स्थापना नगरेमा संसदको बैठक बोलाएर केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउने तागत आफूहरूसँग रहेको घोषणा गरेका छन् । उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरिदिने विश्वास व्यक्त गर्दै नभए सभामुखमार्फत प्रतिनिधि सभाको बैठक बोलाउने चेतावनी दिए ।

‘सर्वोच्च अदालतले संविधानलाई राम्रोसँग बुझ्छ, संविधान हेरेर फैसला गर्छ भन्ने विश्वास छ । हामी सदन बोलाउँछौं, संसद बैठक बोलाएर ओलीलाई कारवाही गर्ने ताकत छ,’ अध्यक्ष प्रचण्डले भने, ‘हामी, कांग्रेस र जसपाले असंवैधानिक भनेका छन् । संसद बैठक बोलाएर संविधान र राष्ट्रघातको विरुद्ध कारवाही गर्ने हैसियत राख्छ ।’ प्रचण्डले आफ्नै बुद्धि र कर्मले कलंकको टीका लगाएर ओली पतनको बाटोमा हिँडिरहेको आरोप समेत लगाएका छन् ।

प्रकाशित मिति : २०७७ माघ १७ गते शनिवार