पार्टीमा मात्र होइन, केपी ओलीको सडकमा पनि एक तिहाइः प्रचण्ड



नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष प्रचण्डले आफूहरुको पक्षमा जनलहर देखिएको दावी गरेका छन् । शनिबार धनगढीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले पार्टीमा ओलीको पक्षमा एक तिहाइ मात्रै रहेको र सडकमा पनि अवस्था त्यस्तै देखिएको बताए ।

‘केपी ओलीको केन्द्रीय समितिमा एक तिहाइ पनि पुगेको छैन । स्थायी समितिमा पनि एक तिहाइ छैन। उहाँले घमण्ड गर्नहुन्थ्यो, सडकमा मेरो पक्षमा छन् भनेर फुर्ती गर्नुहुन्थ्यो’, प्रचण्डले भने, ‘धनगढीमा उहाँ सहभागी कार्यक्रममा भएको जनसहभागितालाई लिएर फुर्ती लगाउनु भएको थियो तर आजको विशाल सहभागिताले उहाँको घमण्डलाई चुरचुर बनाइदिनु भयो ।’ उनले आफूहरुले गरेको जनप्रदर्शनका क्रममा विशाल जनसहभागिता देखिएको भन्दै यो सहभागिताले जनता प्रतिगमनको पक्षमा रहेको स्पष्ट भएको बताए ।

पण्डितको मन्त्रोच्चारणसहित ओलीले गरे चितवनमा सडक शिलान्यास
प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुरमा निर्माणाधीन गोन्द्राङ–पुल्चोक ६ लेन सडकको शिलान्यास गरेका छन् । शनिबार दिउँसो ओलीले पण्डितको मन्त्रोच्चारणसँगै सडकको शिलान्यास गरेका हुन् । सो समारोहमा गृहमन्त्री रामबहादुर थापा बादलको पनि सहभागिता रहेको थियो । ओलीले आजै अन्तर्राष्ट्रिय स्तरको सिटीहल शिलान्यास पनि गर्ने कार्यक्रम रहेको छ ।

निर्माणको चरणमा रहेको सिटी हल ओलीले फेरि जस लिने गरी शिलान्यास गर्न लागेको भन्दै भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालसहित नेकपा चितवन जिल्ला पार्टी कमिटीले विरोध गरेको छ । यसैगरी ओली चितवनमा पुग्दा प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताले प्रदर्शनसमेत गरेका छन् ।

प्रकाशित मिति : २०७७ माघ १७ गते शनिवार