सुनसान बन्यो केपी ओलीले उद्घाटन गरेको पानीजहाज कार्यालय



काठमाडौँ, १७ माघ । ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा भीड नभएको दिन हुँदैन । यसको नजिकै रहेको नेपाल पानीजहाज कार्यालय भने प्रायः सुनसान देखिन्छ । दरबन्दी भन्दा कम कर्मचारी छन्, उनीहरु पनि प्रायः कार्यालयमा भेटिँदैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीका महत्त्वाकांक्षी आयोजना मध्येको यो कार्यालयको २०७५ फागुन २ गते भव्य कार्यक्रमका साथ उनले उद्घाटन गरेका थिए । १६ जनाको दरबन्दीमा १० जना कर्मचारी छन् । कार्यालयले चाहिने कर्मचारी अन्य मन्त्रालय, विभागबाट सरसापट लिइ चलाएको छ ।

पानीजहाज सञ्चालन, अध्ययन र नियमन गर्न कार्यालय स्थापना भएको हो । तर कार्यालय खोल्न हतारिएको सरकारले पानीजहाज सञ्चालनसम्बन्धी कानुन अझै ल्याएको छैन । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

अनेरास्ववियुको जिल्ला भेला : कानूनमन्त्री भन्छन्- ‘तोकिएकै मितिमा चुनाव हुन्छ’
संसदीय मामिला तथा कानून मन्त्री लिलानाथ श्रेष्ठले तोकिएकै मिति आउँदो बैशाखामा चुनाव हुने बताए । नेपाल कम्युनिष्ट पार्टी निकटका अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन सिरहाको जिल्ला भेलामा बोल्दै त्यस्तो कुरा बताएका हुन् । नेकपाभित्रकै केही स्वार्थी नेताहरुको व्यक्तिगत स्वार्थका कारण देश अनिर्णयको बन्दी बनेको तर्क गर्दै उनले भने, ‘तोकिएकै मितिमा चुनाव गराएर केपी शोलीले सबैखाले जटिलतालाई निकास दिन तयार हुनुहुन्छ । हामी तयार छौं ।’ भगौडा, स्वार्थी र फुटको कुरा मात्र गर्नेहरुको पछि नलाग्न उनले सबैसँग आग्रह गरे ।

प्रचण्ड र माधव नेपाल आफ्नो गल्तीलाई ढाकछोप गर्दै प्रधानमन्त्रीमाथि कपोकलपी आरोप लगाएर आफ्नो स्वार्थ सिद्ध गर्न खोजेको उनले प्रष्ट पारे । केपी ओली मधेश विरोधी हो भन्नेहरुको जवाफ स्वरुप प्रम ओलीले तराई मधेशमा संचालन गरेका योजनाहरु नै काफी रहेको उनले थपे । सिरहा जिल्लामा लगडीगदियानी जम्दह सडक जस्तै तराई मधेशका विभिन्न जिल्ला केन्द्रित रहेका हुलाकी राजमार्ग निर्माण, सदरमुकाम विकास कार्यक्रम, सुरक्षित आवास कार्यक्रम जस्ता अनेकौं विकासका योजनाहरु ओली नेतृत्वको सरकारले संचालन गर्दै आएको उनले प्रष्ट्याए ।

देशले निकास पाए शिक्षा क्षेत्रको दिगो विकास हुने भेलाका विशिष्ठ अतिथि लक्ष्मी आचार्यले बताए । उनले विद्यार्थीको हितमा अरुभन्दा ओली नेतृत्वको सकारले महत्वपूर्ण काम गरेको दावी गरे । उनका अनुसार आउने दिनमा पनि ओलीले नै शैक्षिक क्षेत्रको विकासका लागी दिगो र प्रभावकारी योजना ल्याउने छन् । विद्यार्थीले पार्टीको झण्डा मात्र बोक्ने हैन कि शैक्षिक गतिविधिमा लाग्नुपर्ने अनेरास्ववीयुका केन्द्रिय सदस्य अषेश गोइतले बताए । उनले शैक्षिक गुणस्तरीयतालाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने सबै अनेरास्ववीयुको सहयात्री रहेको तर्क गरे ।

अनेरास्ववीयुलाई नेतृत्व गर्दै जिल्ला बाल संगठन सिरहाका अध्यक्ष बन्न सफल भएका दिनेश यादवलाई त्यस भेलामा सम्मान गरिएको छ भने कानूनमन्त्री श्रेष्ठलाई बधाई ज्ञापन गरियो । सुदन कुसियैतको अध्यक्षतामा ५१ सदस्य जिल्ला कमिटि घोषणा गरिएको जनाइएको छ । कुसियैतको अध्यक्षतामा भएको जिल्ला भेलामा विद्यार्थी नेताहरु रवि मिश्र, कनीष पटेल लगायतले देशको वर्तमान परिवेश र त्यसको निकासमा विद्यार्थीको भुमिका दर्साउदै आ–आफ्ना विचार व्यक्त गरे ।

प्रकाशित मिति : २०७७ माघ १७ गते शनिवार