निर्वाचन आयोगले नेकपाका दुबै पक्षलाई बोलायो, पार्टी विवादबारे छलफल हुने



काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुबै पक्षलाई छलफलका लागि बोलाएको छ । नेकपाका दुबै पक्षले आफूलाई आधिकारिक पार्टी भएको दाबी गरिरहेको बेलामा आयोगले छलफलका लागि दुबै पक्षलाई छलफलका लागि उपस्थित हुन पत्र पठाएको हो । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार निर्वाचन सम्बन्धी छलफलका लागि दुबै पक्षलाई शुक्रवार बिहान ११ : ३० बजे निर्वाचन आयोगमा बोलाइएको छ ।

आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र लेखी निर्वाचनसम्बन्धी छलफलका लागि अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५/५ जनालाई बोलाएको छ तर आयोगले पठाएको पत्रमा दलसम्बन्धी विवादबारे छलफल गर्ने भनिएको छैन। तर अहिले नेकपा विवादको सन्दर्भ भएकाले त्यस विषयमा पनि छलफल हुने आयोगको भनाइ छ । नेकपाको दुईवटै पक्षले आफूलाई आधिकारिक दाबी गर्दै आयोगमा दिएको निवेदनमा निर्णय गर्दै आयोगले दुबै पक्षको दावी नपुग्ने निर्णय दिइसकेकाे छ ।

जनता नै निर्णायक शक्ति हुन्, ओलीको पतन निश्चित : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको पतन निश्चित भएको बताउनुभएको छ । प्रचण्डले प्रतिगमनको अन्त्य गर्नका लागि जनता नै निर्णायक शक्ति भएकाले ओलीको पतन निश्चित भएको बताउनुभएको हो । बिहीवार पेरिसडाँडामा जनसंघर्ष समितिको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले देशलाई कालो सुरुङमा हाल्न खोजेकाले त्यो प्रयास आफूहरुले विफल पार्ने बताउनुभयो।

‘प्रतिनिधिसभा संविधानविपरीत विघटन गरेर ओलीजीले मुलुकलाई पहिलेकै अवस्थामा फर्काउन खोज्नुभयो,’ प्रचण्डले भन्नुभयो, ‘तर उहाँको त्यो प्रयासलाई जनताका बलमा हामी विफल पारेरै छोड्छौं।’ प्रतिगमन परास्त गर्न जनता निर्णायक संघर्षमा उत्रिनु पर्ने बताउँदै उहाँले भन्नुभयो, ‘देश जोगाउन निर्णायक संघर्षमा उत्रिनुको अब विकल्प छैन, जनता नै अब निर्णायक शक्ति हुन्, जनता सडकमा ओर्लिएपछि तानाशाही बन्न खोजेका ओलीको पतन हुन्छ।’ आफैँले ल्याएको परिवर्तन जोगाउन जनता सक्षम रहेको भन्दै उहाँले भन्नुभयाे, ‘ओलीको प्रतिगमन परास्त गर्न २८ गते हुने विशाल जन प्रदर्शन नै निर्णायक हुन्छ ।’

प्रकाशित मिति : २०७७ माघ १५ गते बिहिवार