निगरानीमा विप्लव समूह !



ललितपुर, १४ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता धर्मेन्द्र बाँस्तोला पक्राउ परेपछि प्रहरीले उनीहरूका गतिविधिबारे निगरानी बढाएको छ। महानगरीय प्रहरी परिसर ललितपुरले पुस २९ गते बागमती गाउँपालिका गिम्दीबाट उनलाई पक्राउ गरेको थियो। फरार प्रतिवादीलाई पक्राउ गर्न जाँदा प्रहरीले बाँस्तोलासहित विवेक कुमाल र रखायल मगरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

अर्का नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) भने सोही ठाउँबाट फुत्किएका थिए। पक्राउ परेका तीनै जनालाई महानगरीय प्रहरी परिसरमा राखिएको छ। उनीहरूलाई पक्राउ गर्दा ल्यापटप, डायरीलगायत सामग्री बरामद भएपछि त्यसैको आधारमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

नेकपालाई निर्वाचन आयोगको पत्र : अध्यक्ष ओली र दाहाल नै
निर्वाचन आयोगले एकता महाधिवेशनसम्म नेकपा अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल नै यथावत् रहने पत्र पठाएको छ। अध्यक्षद्वय ओली र दाहाललाई छुट्टाछुट्टै पठाइएको पत्रमा विद्यमान ऐन र नेकपाको विधानलाई उल्लेख गरिएको छ। ‘आयोगको निर्णयअनुसार नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई जानकारीपत्र पठाएका छौं’, आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने। पत्रमा कुनै पनि विवरण परिवर्तन, संशोधन वा हेरफेर हुन सक्ने अवस्था नदेखिएको जनाइएको छ। ओली पक्षले गरेको विधान संशोधन र केन्द्रीय कमिटी विस्तार अनि दाहाल पक्षले गरेको वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णयलाई मान्यता नदिने विषयमा आयोगले जानकारी दिएको हो।

आयोगले विधानको धारा १८ (घ) बमोजिम आगामी एकता महाधिवेशनसम्मका लागि केन्द्रीय कमिटीमा दुई अध्यक्ष, दुई वरिष्ठ नेता, एक जना महासचिव र एक जना प्रवक्ता रहने स्पष्ट पारेको छ। केन्द्रीय समिति ४४१ सदस्यीय रहने व्यवस्था भएबमोजिम ती पदाधिकारी तथा केन्द्रीय सदस्य यथावत् रहने पत्रमा उल्लेख छ । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २०७७ माघ १४ गते बुधवार