बच्चा बोक्दै रिक्सा चलाएर भाइरल बनेका अर्जुन बिक पक्राउ !



बच्चा बोकेर रिक्सा चलाउँदै भाइरल बनेका अर्जुन बिक पक्राउ परेका छन् । उनलाई कैलाली प्रहरीले शरीर बन्धक तथा जबरजस्ती करणीको आरोपमा पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । उनलाई काठमाडौं प्रहरीसँग समन्वय गरी तिनकुनेबाट पक्राउ गरिएको कैलाली प्रहरीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए । उनीविरुद्ध उनका श्रीमतीले नै आरोप लगाउँदै यहि साउन ३० गते कैलाली प्रहरीमा जाहेरी दिएकी थिईन् ।

कैलाली घोडाघोडी नगरपालिका–२ साँडेपानी बस्ने २४ वर्षीय छित्ता भन्ने अर्जुन बिक विरुद्ध श्रीमतीले चारवर्षसम्म कोठामा राखी डर, धाक धम्की दिई जबरजस्ती करणी समेत गरी त्यसपछि भागि फरार रहेको जाहेरीमा उल्लेख गरेकी थिईन् । कैलालीकै भजनी नगरपालिका–४ बाट १७ वर्षीया श्रीमतीले २०७३ जेठदेखि २०७७ साउन १५ गतेसम्म उनीहरु काठमाडौंस्थित देविनगरमा डेरामासँगै बस्दै आएका थिए ।

जाहेरी प्राप्त भएपछि कैलाली प्रहरीले अर्जुनविरुद्ध शरीर बन्धक तथा जबरजस्ती करणी शीर्षकमा कैलाली जिल्ला अदालतबाट पक्राउ पुर्जी लिई खोजतलास थालेको थियो । बिकलाई अहिले कैलाली प्रहरीको हिरासतमा राखेको छ । उनी विरुद्ध अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ । बच्चा बोक्दै रिक्सा चलाएको दृश्यले उनलाई भाइरल बनाएको थियो । यसबिचमा उनले म्युजिक भिडियो समेत खेल्न भ्याए । उनी भाइरल भएपछि उनका श्रीमती उनको विरुद्धमा बाहिर आएका थिईन् ।

ज्यान मुद्धाका फरार चार अभियुक्त १५ वर्षपछि पक्राउ
कर्तव्य ज्यान मुद्दाका फरार ४ जना अभियुक्तलाई प्रहरीले घटनाको १५ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनगढी नगरपालिका–६ जाली बस्ने ३५ वर्षीय सियाराम चौधरी, सोही ठाउँ बस्ने टेकुवा भन्ने ३३ वर्षीय टिकाराम चौधरी, सुनिल भन्ने ३१ वर्षीय कालुराम कुमाल र ३३ वर्षीय तारा प्रसाद चौधरी रहेका छन् । २०६२ साउन ११ गते राति धनगढी नगरपालिका–६ जाली गाउँ बस्ने २५ वर्षीय दुःखराम चौधरी घरबाट हराई बेपता भएकोमा १२ गते बिहान धानको खेतबारीमा मृत अवस्थामा फेला परेका थिए ।

उक्त घटनाको थप अनुसन्धान गर्नका लागि खटिएको प्रहरीले घटनामा संलग्न सियाराम, टिकाराम, कालुरामलाई धनगढी उपमहानगरपालिकाको विभिन्न स्थानबाट गत पुस १७ गते र तारालाई माघ ६ गते कालीकोटबाट पक्राउ गरेको कैलाली प्रहरीले जनाएको छ । उनीहरु उपर जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ माघ १३ गते मङ्गलवार