चौतारीमा बसेर अध्यक्ष भएँ भनेका थिए, निर्वाचन आयोगले खत्तम पार्दिएछ: प्रधानमन्त्री



प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाललाई लक्षित गर्दै चौतारीमा बसेर पार्टी अध्यक्ष बने पनि निर्वाचन आयोगले खत्तम पार्दिएको टिप्पणी गरेका छन्। आयोगले आइतबार नेकपाका दुबै समूहलाई आधिकारिकता दिएको थिएन। ‘केही मानिसहरू बैठक छाडेर चौतारीमा बसेर अध्यक्ष भएँ भनेर घोषणा गर्दै हिँड्छन्। त्यो पनि हिजो निर्वाचन आयोगले खत्तम पार्दिएछ,’ दाङमा सोमबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने।

उनले आफू असफल भएर केही नहुने जिकीर गर्दै देश असफल हुन नहुने बताएका थिए। माधवकुमार नेपाल तथा पुष्पकमल दाहाल प्रचण्डतर्फ लक्षित गर्दै ओलीले थपे, ‘उहाँहरू केपी ओली यो त पृथ्वीमै नरहे पनि हुन्छ भन्छन्।’ उनले पार्टी टुक्राउन खोजे पनि एकजुट बनाइराखिएको बताएका थिए। उनले जनतालाई साथमा लिएर देश विकास गर्ने पनि बताएका छन्।

ओली समूहले काठमाडौंमा माघ २३ मा जनसभा गर्ने
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहले माघ २३ गते जनसभा गर्ने भएको छ। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बागमती प्रदेश संगठन कमिटीको आयोजनामा माघ २३ गते काठमाडौंको रत्नपार्कमा जनसभा गर्न लागेको हो। सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै नेकपा बागमती प्रदेश संगठन कमिटी अध्यक्ष आनन्द प्रसाद पोखरेलले वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिको वास्तविकता जनतालाई जानकारी गराउने उद्धेश्यले जनसभा आयोजना गर्न लागिएको बताए।

जनसभा सफल पार्नको निम्ति नेकपाका नेता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा ११ सय ११ सदस्य रहेको जनसभा परिचालन कमिटी गठन गरेको पनि बताए। जनसभा परिचालन कमिटीका संयोजक कृष्णगोपाल श्रेष्ठले सभामा व्यक्ति केन्द्रित आरोप–प्रत्यारोप नगरी विधिसम्मत् राजनीतिक र व्यवहारिक कुरा गर्ने बताए। उनले २३ गतेको जनसभामा प्रधानमन्त्री ओलीले विशेष सम्बोधनमार्फत् वर्तमान राजनीतिक परिवेशको सम्बन्धमा गोप्य रहेको कुरा सार्वजनिक गर्ने पनि बताए।

नेकपाले माघ २१ गते १० हजार मोटरसाइकल र्‍याली पनि गर्ने भएको छ। जनसभामा बागमती प्रदेश अन्तर्गतका १३ जिल्ला र उपत्यका विशेष प्रदेशका ४ जिल्ला गरी १७ जिल्लाका नेता-कार्यकर्ताको नेतृत्वमा जनपरिचालन गरी सभालाई सफल बनाइने बताइएको छ। सभामा मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरू र सदस्यहरूले जनताको नेतृत्व गरी र्‍यालीसहित जनसभामा सहभागी हुने बताइएको छ।

प्रकाशित मिति : २०७७ माघ १२ गते सोमवार