बरिष्ठ अधिवक्ता थापाको व्यंग्य : प्रधानमन्त्रीसँग अर्को संविधान छ !



काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि आठौं दिनको बहस सर्वोच्च अदालतमा जारी छ। सोमबार बहसका क्रममा बरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग अर्को संविधान रहेको भन्दै व्यंग्य गरेका छन्।

अहिलेको संविधानअनुसार त संसद विघटन गर्न नपाइने बताउँदै प्रधानमन्त्री ओलीले दिने गरेका अभिव्यक्तिप्रति बरिष्ठ अधिवक्ता थापाले यस्तो व्यंग्य गरेका हुन् । बहसका क्रममा बरिष्ठ अधिवक्ता थापाले भने, ‘म सकभर गफ गर्दिनँ श्रीमान्। कुरा उनै हुन्, संविधान उही हो। प्रधानमन्त्रीसँग अर्को संविधान छ ! संविधानसभा अध्यक्षसँग अर्को संविधान छ ।’ थापाले बहस गर्दैगर्दा खाजाका लागि इजलास स्थगित गरिएको छ ।

निर्वाचन सर्न सक्छ : गृहमन्त्री थापा
गृहमन्त्री रामबहादुर थापाले सरकारले घोषणा गरेको चुनाव मिति सर्ने सक्ने बताएका छन् । प्रधानमन्त्री केपी ओली नेतृत्वमा रहेको नेकपा कालिकोटले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले यस्तो बताएका हुन् । गृहमन्त्री थापाले सरकारले वैशाखमै चुनाव गर्ने गरी व्यापक तयारी थालेको बताए । तर, प्रतिनिधिसभा विघटन मुद्दा अदालतमा विचाराधीन रहेकाले निर्वाचन विषय अदालतको फैसलामा भरपर्ने उनको भनाई छ ।

‘वैशाखमा चुनाव गराउन सरकार व्यापक तयारी अवस्था छ । निर्वाचन आयोग, सुरक्षा निकायले सबै तयारी गरिरहेका छन्, अदालतको फैसला कुरिरहेका छौँ । अदालतको फैसला ढिला भयो भने निर्वाचन ढिला हुन्छ होला । अदालतले सरकारको निर्णय सदर गर्छ होला ।’ उनले भने । गृहमन्त्री थापाले प्रचण्ड-नेपाल पक्ष पार्टी फुटाउने खेलमा लागेकाले उनीहरुको साथमा नलागेको बताए ।

प्रकाशित मिति : २०७७ माघ १२ गते सोमवार