
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्डमाधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले माघ २३ गते गर्ने र्याली पञ्चर्याली जस्तो मात्र हुने बताएका छन् । पार्टी कार्यालय पेरिस डाँडामा आज २ नम्बर प्रदेशका कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीको जनसभा पञ्चहरुको भन्दा फरक नहुने बताएका हुन् ।
प्रचण्डले पहिले पञ्चहरुले आफू सकिने बेलामा सबै कर्मचारी र सेना प्रहरीलाईसमेत जबरजस्ती उर्दी गरेर कार्यक्रममा ल्याएर ठूलो मास देखाउने गरेजस्तै ओलीले त्यही रुप देखाउन खोजेको आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले प्रचण्ड–मावध समूहको सभालाई केही हैन भन्दै सभाकस्तो हुन्छ, २३ गतेको हेर्नुस् भनेर च्यालेन्ज गरेका थिए । त्यही भनाइको जवाफ दिँदै अध्यक्ष प्रचण्डले ओलीको २३ गतेको सभा हुनु र नहुनुले केही अर्थ नराख्ने बताएका हुन् । प्रचण्डले पञ्चहरुजस्तै ओलीको पतन हुने र अब ओलीले गर्ने कार्यक्रम पनि त्यही रुपमा रहेको बताए । उनले इतिहासमा लेनिन र हिटलरको उदारण दिँदै ओली हिटरलरको पथमा रहेको बताए ।
निर्वाचन आयोगको निर्णय द्विविधाजनक
नेकपाको प्रचण्ड–माधव पक्षले निर्वाचन आयोगको निर्णय द्विविधाजनक भएको जनाएको छ । आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्न सोमबार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगले द्विविधाजनक निर्णय गर्न नहुने पनि बताए । उनले भने– निर्वाचन आयोग जस्तो संवैधानिक निकायले द्विविधा हुने खालको निर्णय गर्दैन, गर्नु हुँदैन । आयोगको आधिकारिक पत्र पाइनसकेको भन्दै उनले पत्र पाएपछि मात्रै पार्टीले पनि छलफलपछि आधिकारिक धारणा बनाउने बताए । प्रवक्ता श्रेष्ठले पार्टीको आधिकारिकता आफूहरुले नै पाउने दावी दोहोर्याए । निर्वाचन आयोगले आइतबार नेकपाको फुटलाई अस्वीकारे गर्ने निर्णय गरेको थियो । प्रचण्ड–माधव पक्षले आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेको छ ।
प्रचण्ड-माधव समूहद्वारा तेस्रो चरणको आन्दोलन घोषणा
नेकपा प्रचण्ड-माधव समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । घोषित कार्यक्रमअनुसार १३ गते सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना, १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्ली दिने, २२ गते काठमाडौंमा युवा र्याली , २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन लगायत छन् ।