“देश युवालाई जिम्मा लगाएर ७० वर्ष पूरा भएका नेता घरमै आराम गरे हुन्छ”



काठमाण्डौँ -: पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले देशको नेतृत्व युवाहरुलाई हस्तान्तरण गर्नुपर्ने बताएकी छन् । काठमाण्डौँ आयोजित कार्यक्रममा बोल्दै कार्कीले ७० वर्ष उमेर पूरा भएका नेताहरुले विश्राम लिएर युवा पुस्तालाई देश हस्तान्तरण गर्नुपर्ने बताइन् । पूर्वप्रधानन्यायाधीश कार्कीले देश एउटा ट्र्याकमा जान सके १०/१२ वर्षमा देश स्वीजरल्याण्ड बन्न सक्ने बताइन् । ‘एक खालको नेताहरु हुनुहुन्छ जो लडिरहनु भएको छ, भिडिरहनु भएको छ ।

उहाँहरुले छोडेर युवालाई थुपारिदिए हुन्छ । विदेश नगएर यही काम गर भने गर्छन्’, उनले भनिन्, ‘७० वर्ष पूरा भएकाहरुले त घरमा बसेर आराम गरिदिए हुने हो । योङ्ग जेनेरेशनलाई खट्न दिने हो । विकासका काम बोकेर बुढो नेताहरु सक्नुहुन्न ।’ उनले सरकार गठन हुनसक्ने अवस्था हुँदासम्म संसद विघटन संविधानले परिकल्पना नै नगरेको बताएकी छन् । ‘कुनै हालतमा पनि हाउसले सरकार दिन सक्दैन भने मात्र विघटनमा जान पाउँछ ।

सरकार बन्नै नसक्ने हो भने अहिले ट्रायल नै भएको छैन’ पूर्वप्रधानन्यायाधीश कार्कीले भनिन्, ‘पार्टी एउटै छ रे, प्रधानमन्त्रीले हाउसमा ६४ प्रतिशत छ पनि भन्नुहुन्छ । यो के खालको विघटन हो ? उनले देशको आर्थिक अवस्था कमजोर भएकाले औषधि किन्न पैसा नभएको अवस्थामा चुनाव कसरी गराउने भन्दै प्रश्न गरेकी छन् । त्यस्तै उनले निर्वाचनको मिति तोकेपछि महँगी बढेको बताइन् ।चुनावका कारण बजारमा मूल्यवृद्धि मौलाएको बताइन् । नेताहरु जुहारी खेल्दै ठिक्क भएकाले सरकार आफ्नो काममा केन्द्रीत नभएको बताइन् ।

प्रकाशित मिति : २०७७ माघ ११ गते आइतवार