प्रतिनिधि सभा विघटन असंवैधानिक भन्नेहरू देश विरोधी हुन्: प्रधानमन्त्री ओली



प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्नेहरू देश विरोधी भएको बताएका छन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरेका प्रधानमन्त्री ओलीले केही मानिसहरू प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भयो भनेर कराइरहेको टिप्पणी गरेका छन् । ‘संसद विघटन भएको असंवैधानिक भयो, अलोकतान्त्रिक भयो भनेर कराइरहेका छन् । ती कराउने मान्छेहरू संविधान विरोधी, लोकतन्त्र, देश विरोधी हुन्,’ उनले भने। बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाउने खेल हुन लागेको उनको भनाइ थियो।

‘स्थिरता हुन नदिने र बहुमतको सरकारको तोडेर जोडजामको सरकार बनाउन खोजियो,’ उनले भने। संसद जागिर खाने थलो नभएको ओलीको भनाइ छ। ‘संसदमा ५ वर्ष जागिर खान पाउनुपर्छ भन्ने? सांसद भनेको जागिर हो? पाँच वर्ष जागि खान पाउनुपर्छ भन्ने उनीहरूको तर्क छ,’ उनले भने। उनले स्थिरताका लागि चुनावमा जाने निर्णय गरिएको पनि दाबी गरेका छन्।
ओलीले आफू तानाशाह नभएको पनि बताए । ‘मैले आफ्नो हातमा लिएको छैन। लिएको भए पो तानाशाही हुन्थ्यो। जनताले फैसला गर्ने भनेपछि म तानाशाह होइन,’ उनले भने, ‘जनताका बीचमा जाम्। मेरो र अरूका काम के भयो जनताले नै मूल्यांकन गर्छन् ।’ उनले वैशाखमा निर्वाचन हुने दाबी गर्दै थपे, ‘वैशाखमा हुने निर्वाचनबाट देशका अहितमा काम गर्नेलाई ठेगान लगाउने अवसरका रूपमा प्रयोग गर्नुपर्छ।’

प्रकाशित मिति : २०७७ माघ ११ गते आइतवार