प्रधानमन्त्रीले अदालतको बहसलाई ‘तमासा’ भन्ने, प्रधानन्यायाधीशले अदालतमै प्रश्न उठाउन नदिने !



काठमाडौं, ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार एक सार्वजनिक कार्यक्रममा प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा लगेर ‘तमासा’ गरेको भन्दै अभिव्यक्ति दिएपछि सर्वत्र आलोचना भएको थियो । ९५ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले सर्वोच्चको संवैधानिक इजलासमा उक्त मुद्दामाथि बहस गरेको कुरालाई लिएर प्रधानमन्त्रीले ‘बाजे वकिल लगेर सर्वोच्चमा तमासा गरियो’ भन्ने आशयको अभिव्यक्ति दिनुभएको थियो । उक्त कुराले अदालतको अपहेलना भएको भन्दै प्रश्न उठाउन खोज्दा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले अहिले ती बजारका कुरा नउठाउन आग्रह गर्नुभएको छ । आइतबार संवैधानिक इजलासमा अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्रीको अभिव्यक्तिले अदालतको मानहानि भएको भन्दै प्रश्न गर्नुभयो, ‘के यो तमासा हो त श्रीमान्, हामी तमासा गर्न बसको हौं ?’

बजारका कुरामा प्रवेश नगरौँ भन्दै प्रधानन्यायाधीश जबराले आफ्नो कुरामा मात्र केन्द्रित हुन अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले बजारमा क-कसले के भने, त्याे हेर्ने कुरा हुन्न। हामीले कसैको कुरा सुन्दैनौं । बजारका कुरामा नजानुस्, आफ्नो विषयमा जानुस् ।’ तर वरिष्ठ अधिवक्ता त्रिपाठीले कुरा गम्भीर रहेको बताउँदा प्रधानन्यायाधीश जबराले सबै कुरा गम्भीर नै रहेकाले अहिले ध्यान बाहिर नमोड्ने बताउनुभयो । उहाँको आशय प्रधानमन्त्री वा कसले के बोले, त्यसबारे प्रश्न नउठाएर मूल मुद्दामा नै केन्द्रित हुनू भन्ने थियो ।

यसअघि पनि इजलास सुरु हुनासाथ वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले संसद विघटनको सूचना राजपत्रमा रातारात प्रकाशित गरेको भन्दै यसको प्रक्रिया तथा आधिकारिकताको प्रश्न उठाउन खोज्नुभएकाे थियाे । त्यसमा पनि प्रधानन्यायाधीश जबराले अहिले त्यस कुरामा प्रवेश नगरौँ भन्दै रोक्नुभएको थियो ।

प्रकाशित मिति : २०७७ माघ ११ गते आइतवार