केपी ओलीले दरबारिया शक्तिको एजेण्डा बोकेर हिडेको योगेश भट्टराईको आरोप



काठमाडौं, १० माघ । नेकपा प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनकारी दरबारिया शक्तिले बोकेको एजेण्डा नै अंगालेर हिडिरहेको आरोप लगाउनु भएको छ । माक्र्सवादी ज्ञान केन्द्रको आयोजनामा शनिबार काठमाडौंमा आयोजित संसद् विघटन र समाजवादी क्रान्तिको मार्गचित्र विषयक अन्तरक्रिया एवं कम्युनिस्ट स्कुल पुस्तक लोकार्पण कार्यक्रममा उहाँले दरबारियाहरुको र ओलीको भाषा र बोलीमा फरक नभएको जिकिर पनि गर्नुभयो ।

नेता भट्टराईले ओलीको संसद बिघटनको कदमले संविधान खतरामा परेको समेत बताउनुभयो । कार्यक्रममा नेकपा प्रचण्ड–नेपाल समूहका अर्का नेता देबेन्द्र पौडेलले ओलीको प्रतिगामी कदमपछि नेकपालाई पुनर्गठनको ठाउँमा र्पुयाएको बताउनुभयो । नेता पौडेलले नयाँ पुस्ताले पनि पुरानै पुस्ताको भक्तिगान गाएर नयाँ पुस्तामा नेतृत्व ल्याउन नसकिने धारणा पनि राख्नुभयो ।

प्रकाशित मिति : २०७७ माघ १० गते शनिवार