खुलेरै ओलीतिर लागे प्रचण्डका यी ४ बिश्वासपात्र, जसले पुराए दाहाललाई नै सडकमा !



काठमाण्डौ | दश वर्षे जनयुद्धकालमा लेखराज भट्ट तत्कालिन माओवादीका अध्यक्ष प्रचण्डका विश्वासपात्र थिए । उनले सिंगो सुदुरपश्चिम क्षेत्रमा माओवादी गतिविधिलाई निकै सक्रिय बनाउन भूमिका खेलेका थिए । शान्ति प्रक्रियापछि पनि लेखराजको जनाधार बलियो रह्यो । जनयुद्धकालमा टोपबहादुर रायमाझी पनि कार्यक्षेत्रमा निकै खटिएका नेता हुन् । उनी विगतमा माओवादीका दोस्रो वरियताका नेता डा.बाबुराम भट्टराईसँग नजिक थिए । बाबुरामले माओवादी छाड्दा उनी पनि सँगै जाने चर्चा थियो तर गएनन् । मध्य तराईमा प्रभावशाली प्रभु शाह जनयुद्धकालमा युवावस्थामै प्रभावशाली बनिसकेका थिए । उनी पनि बाबुराम भट्टराईसँग नजिक थिए ।

तर, बाबुरामले पार्टी छाड्दा प्रचण्डकै साथमा बसे । मणि थापा भने जनयुद्धकालमै माओवादी छाडेका थिए । उनलाई पछि प्रचण्डले पार्टीमा भित्राएर स्थायी समिति सदस्य बनाए । तर, उनले अप्ठ्यारो समयमा आएर प्रचण्डलाई छाडे । आखिर प्रचण्डलाई आफ्नाले नै किन छाडे रु यो प्रश्न अहिले उठ्न थालेको छ । कुनैबेला प्रचण्डसँग लय मिल्ने गरेका बाबुरामले छाडे । मोहन वैद्य किरणले पनि छाडे । नेत्रविक्रम चन्द विप्लवले पनि छाडे । यसरी एकपछि अर्को गर्दै प्रचण्डलाई आफ्नाले नै धमाधम छाड्दै गए ।

माओवादी पार्टी विभाजन हुँदा प्रचण्डलाई रामबहादुर थापा बादलले छाडेका थिए । बादलसँगै देव गुरुङ, मातृका यादव र पम्फा भुषालले पनि प्रचण्डको साथ छाडे । पछि उनीहरु फर्किएका थिए । तर, बादलले अहिले आएर प्रचण्डलाई छाडेर ओली क्याम्पमा पुगेका छन् । यतिमात्र नभई उनीहरु प्रचण्डको कडा आलोचना गर्न थालेका छन् । आलोचना गर्नेमा टोपबहादुर रायमाझी र प्रभु शाह निकै अगाडि छन् । लेखराज भट्टले त चुनौती नै दिने गरेका छन् । प्रचण्डलाई आफ्नाले साथ छाड्नुमा अवसर नदिनु पनि मुख्य कारण हो । प्रचण्डले केही विश्वासपात्रहरुलाई मात्र बढी अवसर दिए । सरकारमा उनले बुहारी विना मगर र विश्वासपात्र शक्ति बस्नेतलाई अवसर दिए ।

बस्नेतले त पटक पटक अवसर पाए । छोरी रेणु दाहाललाई चुनाव जिताउन ठुलै मिहेनत गरे । यसरी उनले परिवार र आसेपासेलाई बढी अवसर दिएको आरोप लाग्न थाल्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डमाथि परिवार र आफन्तका लागि मात्र सोच्न गरेको आरोप लगाए । त्यसको जवाफमा प्रचण्डले आफू निसन्तान नहुनु अपराध नभएको प्रतिक्रिया दिए । उनले परिवारका सदस्यले संघर्ष गरेकोले अवसर पनि पाएको तर्क गरे । जनयुद्धकालका मुद्दाहरु उठेर नेता कार्यकर्ता समस्यामा पर्दा प्रचण्ड निरिह देखिए । कतिपय नेताहरु जेल परे त कतिपय भूमिगत भए । तिनको संरक्षण गर्न नसकेको आरोप प्रचण्डलाई लाग्यो ।

कालीबहादुर खाम बालुवाटार त्यसै छिरेनन् । यसकारण पनि प्रचण्डलाई आफ्नैले साथ छाडे । राजनीतिमा कार्यकर्ताको संरक्षणमा प्रचण्डभन्दा ओली अब्बल देखिए । उनले गम्भीर घटनामा मुछिएका निकटस्थहरुको संरक्षण गरे । तर, प्रचण्ड त्यसमा चुके । प्रचण्डले पटक पटक पार्टी विघटन गरेपछि कार्यकर्ताहरु झस्किए । उनले पटक पटक आफ्नो शक्तिका लागि पार्टीलाई बली चढाएको आरोप समेत लगाउन थालियो । उनी संगठनमा भन्दा व्यक्तिगत सामथ्र्यमा विश्वास गर्ने जस्ता देखिए । यसले पनि प्रचण्ड निकटस्थ भनिएकाहरुले उनलाई छाड्ने क्रम चलिरह्यो ।

प्रकाशित मिति : २०७७ माघ १० गते शनिवार