ड्राइभिङ लाइसेन्सको अनलाइन फारम खुल्याे : हट्याे कोटा सिस्टम, यसरी भर्नुहाेस् फारम



काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम आज (शुक्रबार)बाट खुल्ने भएको छ । यातायात व्यवस्था विभागले बिहीबार एक सूचना जारी गर्दै अब असीमित रुपमा अनलाइन आवेदन दिन सकिने जनाएकाे हाे । यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालका अनुसार निश्चित कोटा सिस्टम पनि हट्ने भएकाे छ । यसअघि दिनको निश्चित सङ्ख्यामा मात्रै अनलाइन फाराम भर्न पाउने व्यवस्था हुँदा फाराम भर्न नपाएको गुनासाहरू आएका थिए ।

अनलाइन फर्म भरेका सेवाग्राहीले तोकिएको मितिमा लिखित परीक्षाका लागि लागि यातायात कार्यालय जानुपर्ने छ । कोटा प्रणालीले फारम भर्न नसकेको गुनासो आएपछि अनलाइन फाराम दर्ता असीमित गरिएको र प्राप्त आवेदनका आधारमा परीक्षाका लागि पालैपालो बोलाइने यातायात व्यवस्था विभागका महानिर्देशक हमालले जानकारी दिनुभयाे । यातायात व्यवस्था विभागले गत पुस १० गते सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्डहरू पालन गर्ने व्यवस्था गरी १४ गतेदेखि आवदेन खुला गरेको थियो । आवेदन खुला भए पनि फारम भर्नेको सङ्ख्या अधिक भएकोले कोटा सिस्टम हुँदा अधिकांश सेवाग्राही फारम भर्नबाट बञ्चित थिए । त्यस्तै केही दिनदेखि आएको सर्भरको समस्याले अनलाई आवेदन प्रणली बन्द थियो ।

कसरी भर्ने फारम?
अनलाइन फारम भर्नका लागि यातायात व्यवस्था विभागको वेबसाइट (www.dotm.gov.np)मा जाने । त्यसको भित्र दायाँ साइडमा रहेको ‘महत्वपूर्ण लिङ्कहरू’ भन्ने सेक्सनभित्र रहेको ‘अनलाइन सवारी चालक अनुमतिपत्र प्रणाली’ लिंकमा क्लिक गर्नुहोस् । त्यसपछि पेजको सबभन्दा माथि अनलाइन ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसन ‘Online Driving License Registration’ मा क्लिक गर्नुहोस् । नयाँ पेज देखिएपछि क्याटोगोरीमा गई नयाँ लाइसेन्स (New License), लाइसेन्स रिन्यू, वा प्रतिलिपिमध्ये एक अप्सन छानेर तल ‘प्रोसिड‘ लेखिएको बटनमा क्लिक गर्नुहाेस् । ‘प्रोसिड’ मा क्लिक गरेसँगै त्यहाँ फारम खुल्नेछ ।

त्यसपछि ‘एप्लिकेन्ट सेभ्ड् सक्सेसफुल्ली’ देखिन्छ । त्यहाँ ओकेमा क्लिक गर्ने । र, अन्त्यमा प्रिन्टमा क्लिक गरेपछि तपाईंको फारम भरिन्छ । यदि फारम एक्सेप्ट भएको खण्डमा त्यहाँ भरिएको पेपर प्रिन्ट गरी आफूसँग राख्नुपर्ने हुन्छ । उक्त पेपरमै तपाईंको बायोमेट्रिकका लागि समय उल्लेख गरिएको हुन्छ ।

प्रकाशित मिति : २०७७ माघ ९ गते शुक्रवार