
काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका नेता घनश्याम भुसालले अब प्रधानमन्त्री केपी शर्मा ओलीको सेटिङले देश नचल्ने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार भृकुटीमण्डपमा आयोजित विरोधसभामा नेता भुसालले यतिबेला सबैले प्रधानमन्त्री ओलीले सबैतिर सेटिङ मिलाएका छन् भनेर भन्ने गरे पनि त्यसो हुन नदिइने बताएका हुन् ।
‘अब केपी ओलीका जालझेल र षड्यन्त्रलाई कुनै हालतमा पूरा हुन दिइनेछैन । सबैले केपी शर्मा ओलीले सेटिङ गरिरहेका छन् भन्ने गरेका छन् । तर अब केपी ओलीको सेटिङले देश चल्दैन, सेटिङ त जासुसी उपन्यासहरुमा मात्र सफल हुन्छ’, भुसालले भने, ‘२१औं शताब्दीमा सेटिङ मिलाएर अदालतलाई दबाउन सकिन्छ भन्ने भ्रम पाल्नु भएको छ भने कमरेड ओली तपाईंले गलत गर्दै हुनुहुन्छ । यसै कारण तपाईं भोलि पराजित हुनुहुनेछ ।’ उनले ओलीलाई घुँडा टेकाएर मात्र विश्राम लिने बताए ।
भुसालले केपी ओलीसँग साइबर सेना नभएर साइबर स्याल मात्रै बाँकी रहेको बताए । नेता भुसालले केपी ओलीले साइबर सेनाको नाममा आतंक मच्चाउन खोजेको सन्दर्भ उल्लेख गर्दै ती सेना नभएर स्याल भएको बताएका हुन । ‘अब ओलीसँग जनता छैनन्’, नेता भुसालले भने, ‘ओलीसँग साइबर स्यालहरु मात्रै बाँकी छन् र सेटिङ बाँकी छ ।’