संघीयता खारेज गर्न बालुवाटारमा गोप्य बैठक, प्रत्यक्ष निर्वाचित कार्यकारीको तयारी !



नेकपा प्रचण्ड–माधव समूहका नेता जनार्दन शर्माले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संघीयता खारेज गर्ने विषयमा छलफल चलेको बताएका छन् । बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित बिरोधसभालाई सम्बोधन गर्दै नेता शर्माले बालुवाटारमा समानुपातिक समावेशी सिद्धान्त र संघीयता खारेज गर्ने छलफल भएको आफुले गोप्य सूचना पाएको दावी गरेका हुन् ।

एउटा गोप्य सूचना आएको, अस्ति भर्खरै बालुवाटारमा आगामी निर्वाचनबाट समानुपातिक समावेशी र संघीयता खारेज गर्ने छलफल भएछ,’ नेता शर्माले भने, ‘समानुपातिक प्रतिनिधित्व खारेज गरेमात्रै आगामी चुनाव जित्छौं भनेर हिसाब किताब गर्नु ठूलो मुर्खता हो । यस्ता दिवास्वप्न हामी पूरा दिने छैनौं ।’ शर्माले अब केपी ओली समूहसँग एकता असम्भव रहेको बताए । ‘राष्ट्रघाती, जनघातीसँग एकता हुनसक्दैन, जनताको अधिकार खोस्नेसँग एकता चाहिँदैन’ उनले भने । आफूहरु पद प्रतिष्ठाको नभइ नागरिकलाई संविधानले दिएको अधिकार उपभोग गर्न पाउनुपर्छ भन्ने लडाइँमा रहेको नेता शर्माको भनाइ छ । उनले प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा समेत अब सोच्ने बेला भएको बताए ।

देउवा निवासमा माधव नेपालको ‘कल’ प्रसंग
२०४८ सालपछि सत्ता राजनीतिमा सधैं चलायमान र शक्तिमा रहेका थोरै पात्रमा पर्छन् बिजयकुमार गच्छदार । तत्कालिन राजा ज्ञानेन्द्रले कुनै समयका उनी जस्तै शक्तिशाली कांग्रेस नेताहरु खुमबहादुर खड्का र चिरन्जिवी वाग्ले जस्तालाई भ्रष्टाचार मुद्दामा जेल हाल्दा पनि गच्छदार जोगिएर गणतन्त्रकालिन सत्ता समिकरणमा झन ठूला खेलाडी बनेर निस्किएका थिए । तर अहिले गच्छदार राजनीतिक जीवनकै कठिन र कमजोर घडीमा छन् । बालुवाटारको जग्गा प्रकरणमा अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएपछि सांसद पदमात्र गएको छैन, बाँकी राजनीतिक जीवन पनि धरापमा छ ।

उनले बालुवाटार प्रकरणबाट जोगिन प्रधानमन्त्री केपी ओलीदेखि आफ्नै सभापति शेरवहादुर देउवालाई नगुहारेका होइनन् । बुधबार विहान देउवा निवास बुढानिलकण्ठमा पनि यही विषयले प्रवेश पायो । बुधबार बिहान कांग्रेसका ‘पूर्वेली’ नेताहरु भेला भए । प्रदेश नम्बर एकमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावबारे राय लिन सभापति देउवाले गच्छदार सहित सो प्रदेशका नेताहरुलाई बोलाएका थिए ।गम्भीर राजनीतिक विषयमाथिको छलफल भएपनि बैठकको सुरुवात उपसभापति बिजयकुमार गच्छदारको गुनासोबाट सुरु भयो ।

गच्छदार विघटित प्रतनिधिसभामा कांग्रेस संसदीय दलको उपनेता थिए । बालुवाटार जग्गा प्रकरणमा अख्तियारले मुद्धा चलाएपछि उनको संसदीय भूमिका ‘निलम्बित’ अवस्थामा रह्यो । यद्यपि कांग्रेस उपसभापतिका हैसियतले पार्टीका आन्तरिक राजनीतिका महत्वपूर्ण मञ्चहरुमा गच्छदार उभिने गरेका छन् । बुढानिलकण्ठ बैठकमा आफ्नो राजनीतिक क्रियाशीलता कम भएको सन्दर्भ दिदैं गच्छदारले धारणा राखे । ‘मलाई षड्यन्त्रपूर्ण ढंगले मुद्धा चलाइयो । ममाथि अन्याय भइरहेको छ भनेर पार्टीभित्र बारम्बार भनेको छु । यही मुद्धाका कारण राजनीतिक गतिविधि पनि कम गरेको छु ।’, बैठकको सुरुमै गच्छदारले गुनासो गरे ।

बालुवाटार जग्गा प्रकरणमा आफूले कुनै गल्ती नगरेको दावी गर्दै आएका गच्छदारले राजनीतिक प्रतिशोध राखेर नेता सिध्याउने काम भइरहेको बताए । ‘पहिले मलाई सिध्याउन मुद्धा चलाइयो । अब सुन्दैछु माधव नेपाललाई पनि मुद्धा लाग्दैछ रे । यसबारेमा पनि साथीहरुको ध्यान जाओस्’, गच्छदारले भने । आफू र माधव नेपाल मात्रै नभएर प्रधानमन्त्री केपी ओलीले जोकोहीलाई प्रतिशोधको आधारमा मुद्धा चलाउन सक्ने गच्छदारको दावी थियो । ‘मैले राजनीतिक रुपमा मलाई सिध्याउन मुद्धा चलाइँदैछ भनेर बारम्बार भनेकै हो । अब माधव नेपाल मात्रै होइन यसको श्रृखंला लामो छ । जसलाई पनि झूठो मुद्धा लगाउन सक्छ’, गच्छदारले भने । गच्छदारले अदालतबाट न्याय पाउनेमा आफू विश्वस्त रहेको भएपनि अहिले अदालतमा नै सत्ताको छायाँ पर्न थालेकोले सबै सचेत हुनुपर्ने बताए ।

शेरबहादुरलाई माधवको कल
गच्छदारले बोल्ने क्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र सभापति देउवाबीचको टेलिफोन संवादको प्रसंग समेत झिकेको त्यहाँ सहभागी नेताहरुले नेपालप्रेसलाई बताए । जुन कुरा उनीहरुका लागि नयाँ थियो । ‘तपाईलाई माधवजीले फोन गरेर बालुवाटार प्रकरणमा आफूलाई मुद्धा हाल्नसक्ने बताउनुभएको रहेछ । तपाईले प्रधानमन्त्रीसंग कुरा गर्छु भन्नुभयो रे । के कुरा गर्नुभयो रु’, गच्छदारले भने ।

गच्छदारको गुनासोपछि सभापति देउवाले आफूले मुद्धा लाग्न नदिन धेरै प्रयास गरेको बताएका थिए । ‘तपाईको लागि पनि मैले धेरै गरेको हो । माधवको बारेमा पनि प्रधानमन्त्रीसंग कुरा गर्छु भनेको हो । यो गम्भीर कुरा हो ।’, देउवाले भने । बैठकमा गच्छदारले प्रतिशोधका आधारमा मुद्धा चल्दै जाने हो भने कोही सुरक्षित नहुने भन्दै देउवालाई सचेत गराएका थिए । अख्तियारको मुद्धाबारे गुनासो सकिएपछि राजनीतिक विषयमा गच्छदारले धेरै कुरा राखेनन् । ‘मलाई शेरधन राई र भीम आचार्य दुवैले फोन गरेका थिए । पार्टीले निर्णय गर्छ भनेको छु’, उनले भने । गच्छदारले आफू राजनीतिक रुपमा कम सक्रिय रहेकोले प्रदेश र जिल्लामा निरन्तर गइरहने नेताहरुको सुझाव अनुसार अघि बढ्नुपर्ने बताउँदै भनाई त्यस सन्दर्भमा बिट मारेका थिए ।

प्रकाशित मिति : २०७७ माघ ९ गते शुक्रवार