माघ १४ गतेबाट कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिने !



काठमाडौं, ९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही माघ १४ गतेबाट कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरिने जानकारी दिनुभएको छ । यसका लागि समूह तयार पारिसकेको उहाँले बताउनुभयो । सशस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मुलुकमा कोरोनालाई पराजित गर्ने अभियानको शुरुआत भइसकेको र नियन्त्रणको ‘टर्निङ प्वाइन्ट’मा पुगेको बताउनुभयो ।

उहाँले पहिलो चरणमा अग्रभावमा रहेर कोभिड–१९ विरुद्ध खटिएका व्यक्तिलाई खोप लगाइने जानकारी दिनुभयो । पर्याप्त खोप नआइसकेकाले अझै केही महिना सावधानी अपनाउन प्रधानमन्त्री ओलीले सबैमा आग्रह गर्नुभएको छ । शान्ति, सुरक्षा, अमन चयनलगायत विपद् व्यवस्थापन र सङ्कटका बेला सशस्त्र प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले समयानुसार परिमार्जित हुँदै अघि बढ्न सशस्त्र प्रहरीलाई आग्रह गर्नुभयो ।

त्यस्तै, सोही सामारोहमा गृहमन्त्री रामबहादुर थापाले परिवर्तित वर्तमान अवस्थामा अहम भूमिका निर्वाह गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिनुभयो । उहाँले आन्तरिक विद्रोह र आपराधिक गतविधि नियन्त्रणका लागि तयार रहनसमेत सुरक्षा निकायलाई निर्देशन दिनुभयो । उहाँले सशस्त्र प्रहरीको १७ जिल्लाका अस्थायी गुल्मलाई स्थायी बनाउने र सीमा निगरानी चौकीलाई ५०० पु¥याउने लक्ष्य गृहमन्त्रालयको रहेको जानकारी दिनुभयो । पर्वतीय उद्धार तालिम शिक्षालय बनाउने तयारी भइरहेकोसमेत गृहमन्त्री थापाले जानकारी दिनुभयो । उहाँले आवश्यकताअनुसार सशस्त्र प्रहरीमा जनशक्ति थप्दै लगिने पनि बताउनुभएको छ ।

प्रकाशित मिति : २०७७ माघ ९ गते शुक्रवार