प्रधानमन्त्री ओली हिटलरकाे संस्करण : अध्यक्ष नेपाल



काठमाडौं, ९ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली हिटलरका संस्करण भएको बताउनुभएको छ । शुक्रबार (आज) संसद् विघटनविरुद्ध नेकपा दाहाल–नेपाल समूहले गरेको जनप्रदर्शनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘पहिले पहिले राष्ट्रपतिले ‘कू’ गरे भन्ने सुन्थ्यौं हामी तर, अहिले त निर्वाचित व्यक्ति पनि कू गर्ने हुँदा रैछन् । केपी ओली त्यही हिटलरका संस्करण हुन् ।’

यसैबीच उहाँले जनता अब डराएर केपी ओलीप्रति नतमस्तक नहुने भन्दै नेपाली जनता स्वाभिमानी भएका पनि बताउनुभयो । संविधानले विधिको आधारमा देश चल्ने भएतापनि ओलीले भने ‘कू’ गरिहरेका उहाँको भनाइ थियो । त्यस्तै, अध्यक्ष नेपालले विधानभन्दा माथि ठान्ने र नियम कानून नमान्ने ओली जहिले पनि दुःख दिने नेता भएको पनि टिप्पणी गर्नुभयो । आफूहरुले सम्भव भएका मात्र कुरा गर्न र कोरोना पीडितका लागि केही गर्न तथा महिला बलात्कार र किसानको कुरा गर्न भन्दा प्रधानमन्त्री ओली बैठकमा आउन नचाहेको अध्यक्ष नेपालले बताउनुभयो ।

यसैबीच उहाँले ओलीले प्रचार गरेजस्तो कुर्सीको तानातान नभएकोे जिकिर गर्दै ओलीको पक्षमा १०० जना मात्र भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘घरमा झगडा भयो घरमै आगो लगाइदिने प्रवृत्ति भएकाले केपी ओली साइबर सेना र अरिंगाल मन पर्ने मान्छे भए ।’ यस अघि उहाँले आफूहरुले केपी ओलीलाई ठीक ठाउँमा ल्याउन नसकेको बताउदै पार्टी एकता भएपछि नयाँ बाटोमा गएपनि नसुध्रिएका आरोप लगाउनुभयो । त्यस्तै, केपी ओलीले माफी मागे माफ गरिदिने तथा केही समय जेलमा राखेर भएपनि माफी दिने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७७ माघ ९ गते शुक्रवार