यस्तो थियो प्रचण्ड–नेपालको ‘कू’गर्ने तयारी, संसद बिघटन गरेर जोगाए ओलीले !



काठमाडौं | नेपाल कम्युनिष्ट पार्टी ओली समूहका नेता तथा गृह मन्त्री रामबहादुर थापा बादलले फुटेर जाने समूहले राजनीतिक कू को तयारी गरेको आरोप लगाएका छन् । काठमाडौंमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । फुटेर जाने नेताहरुको राजनीतिक कूको तयारी थियो,” बादलले भने, “प्रधानमन्त्री हटाउने, अविश्वासको प्रस्ताव ल्याउने तयारी थियो । त्यसैले प्रधानमन्त्रीले राजनीतिक निर्णय लिनुपरेको थियो । संवैधानिक भन्दा पनि यो राजनीतिक निर्णय हो । प्रतिगमन र कू लाई रोक्ने ठूलो साहसिक कदम हो ।

यो कदम संवैधानिक हो कि असंवैधानिक भन्नेकुरा अदालतले फैसला गर्छ । यो अग्रगामी कदम हो । यसले प्रतिगमन रोक्यो । भविष्यले यो प्रमाणित गर्नेछ यो कदम सही थियो ।” बादलले रुपमा प्रतिगमनजस्तो देखिए पनि सारमा अग्रगामी कदम भएको बताए । “रुपमा प्रतिगमनमा गएको देखिए पनि सारमा हामी अग्रगामी भएका छौँ,” बादलले भने, “पृथकतावादी आन्दोलनलाई समाप्त पारेका थियौँ । देशको भौगोलिक अखण्डताको लागि महत्वपूर्ण कदम यो सरकारले उठाएको थियो । भौगोलिक अखण्डताको पक्षमा र कम्युनिष्ट आन्दोलनको पक्षमा नेतृत्वले ऐतिहासिक उपलब्धि हासिल गरेको छ । हामी निराश हुनुपर्ने आवश्यकता छैन ।

प्रकाशित मिति : २०७७ पुष १९ गते आइतवार