पार्टी एकता भंग भयो, एमाले ब्युँतियो सूर्यचिन्हमा चुनाब लड्छु : ओली



काठमाडौं | संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नफुट्ने बताएका छन् । तर, पार्टी नफुटे पनि एकता भने भंग हुने र पूर्वसमूह एमाले र माओवादी आ–आफ्नो बाटो लाग्न सक्ने प्रधानमन्त्री ओलीको विश्लेषण छ । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा सोमबार बिहान आफूनिकटका सांसद र केन्द्रीय सदस्यहरुको भेलालाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो विश्लेषण सुनाए ।

आफूले संसद विघटन गरेर मध्यावधि चुनावमा जानुपर्ने कारणबारे बताउनका लागि ओलीले आफ्नो पक्षका नेताहरुलाई बालुवाटारमा बोलाएका थिए । आगामी बैशाखमा दुई चरणमा मध्यावधि चुनाव गर्ने घोषणा गरेका प्रधानमन्त्री ओलीले पार्टी एकता भंग भएपछि निर्वाचन आयोगले नेकपा एमाले र सूर्यचिन्हलाई मान्यता दिने संकेत गरे । त्यसैगरी माओवादी र हँसिया हथौडा चुनावचिन्ह प्रचण्ड समूहले पाउने उनले जनाऊ दिए । बालुवाटारमा प्रधानमन्त्रीको भनाइ उधृत गर्दै एक नेताले भने, ‘प्रधानमन्त्रीज्यूको विश्लेषण के छ भने दुई अध्यक्षको सहमतिविना केन्द्रीय कमिटीको बैठक बस्न सक्दैन ।

त्यसरी बैठक राखियो भने पार्टी एकता भंग हुन्छ र पूर्वसमूहहरु आ–आफ्नो बाटो लाग्छन् । प्रचण्ड–माधव पक्षले मंगलबार काठमाडौंमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ । दुई अध्यक्षको सहमतिविना त्यो बैठक बसेमा अवैधानिक हुने र पार्टी एकता भंग भई पूर्वसमूह एमाले र माओवादी जागृत हुने प्रधानमन्त्री ओलीले बताए । ‘त्यसपछि आ–आफ्नो बाटो लाग्दा हुन्छ, एमाले एकातिर लाग्छ, माओवादी एकातिर लाग्छ,’ ओलीको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘कोही ९माधव नेपालहरु० प्रचण्डसँग जान चाहन्छन् भने जान पाउँछन्, जस्तै लेखराज भट्टजी हामीतिर आउनुभएको छ ।’

पार्टी एकता भंग भएको अवस्थालाई अध्ययन गरेर निर्वाचन आयोगले पनि फैसला लिने ओलीको विश्लेषण छ । उनको संकेत नेकपा एमाले ब्युँतिने र सूर्यचिन्ह एमालेको भागमा पर्ने रहेको छ । त्यस्तै उतापट्टि नेकपा नएर माओवादी मात्र रहेन र माधव नेपालहरु पनि नेकपा माओवादीको नेता बन्ने ओलीको तर्क रहेको स्रोतले बतायो । लेखराज भट्ट रामबहादुर थापा बादल यतातिर आएमा एमालेको नेता बन्ने उनले संमकेत गरे ।

के भन्छन ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै दलका नेताहरुले सरकारविरुद्ध घेराबन्दी गरेर काम गर्न नदिएकाले संसद विघटन गर्नुपरेको बताएका छन्। सोमबार देशवासीका नाममा सम्बोधन गर्दै नेकपा अध्यक्ष समेत रहेका ओलीले यस्तो बताएका हुन् । नेपाल कम्युनिष्ट पार्टीका केही नेताहरुको जनअपेक्षा विपरीत कार्य भएको छ। वाम गठबन्धन बनाएर निर्वाचन लड्ने र पार्टी एकता गर्ने उद्घोष भएको होु, उनले भने, राष्ट्रिय राजनीतिलाई जनअपेक्षाअनुरुप अघि बढ्न नदिने काम भयो। समस्याको दलदलमा राष्ट्रिय राजनीतिलाई अल्झाउने काम भएको छ। तर पनि बाधा हटाउँदै काम भएको हो। केही नेताहरुले सरकारविरुद्ध अड्चन दिइरहे। घेराबन्दी गरिरहे, बाध्य भएर संसद् विघटनको कदम चाल्नु परेको हो।

दुवै समुहले बोलाए केन्द्रीय कमिटीको बैठक
सत्तारुढ दल नेकपाका दुवै समूहले केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। मंगलबारका लागि दुवै पक्षले फरक फरक स्थानमा केन्द्रीय कमिटीको बैठक बोलाएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय समितिको बैठक बोलाएका छन्। प्रधानमन्त्री ओली पक्षले बिहान ९ बजे बैठक बोलाएको छ। अर्कोतर्फ पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपाल समूहले दिउँसो १ बजे बैठक बोलाएको छ। प्रचण्ड–माधव समूहले कार्की बेङ्क्वेटमा बैठक बोलाएको हो।

प्रधानमन्त्री ओली निकट कार्यालय सचिव ईश्वरी रिजालले नेताहरूलाई बालुवाटार केन्द्रीय कमिटी बैठकमा सहभागी हुन सूचित गरेका छन्। प्रचण्ड निकट कार्यालय सचिव श्रीराम ढकालले दिउँसो १ बजे कार्की बेङ्क्वेटमा बैठक हुने सूचना जारी गरेका छन्। दुई कार्यालय सचिवले फरकरफरक समय र स्थानमा बैठक हुने सूचना जारी गरेका हुन्।

प्रकाशित मिति : २०७७ पुष ६ गते सोमवार