विद्यादेवी भण्डारी राष्ट्रपति होइन, केपी ग्याङको एक सदस्य मात्रै हो: गगन थापा !



प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि प्रश्न उठाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने सिफारिस गरेकोमा राष्ट्रपतिले अनुमोदन गरिदिएकोमा उनले आपत्ति जनाएका हुन्। ‘प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने सिफारिस गर्नुभयो। विद्यादेवी भण्डारी, तपाईं आजदेखि मेरो राष्ट्रपति होइन। केपी शर्मा ओलीको ग्याङको सदस्य मात्रै हो,’ बानेश्वरमा आयोजित विरोधसभामा उनले भने, ‘संसदबाट निर्वाचित राष्ट्रपति संसदकै अपराधमा उत्रिन्छिन् भने उनी राष्ट्रपति होइन।’

प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेर अपराध गरेको उनले बताएका छन्। प्रधानमन्त्रीले गरेको गल्तीलाई सच्याउनुको सट्टा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिस अनुमोदन गरिदिएर अपराधको साक्षी बसेको थापाले बताए। थापाले ओली प्रधानमन्त्री भएको दिनदेखि जनता चैनमा सुत्नसमेत नसकेको बताए। ‘जसले तालाचावीको जिम्मा लियो। त्यही प्रधानमन्त्रीले संसदको तालाचावी फोडेर त्यहाँभित्र रहेका सबै बन्दोबस्तलाई अस्तव्यस्त बनाएका कारण हामी सडकमा आउन बाध्य भयौं,’ थापाले भने, ‘प्रधानमन्त्रीले सनकमा आएर यस्तो काम गर्नुभयो भने त्यो काम रोक्ने राष्ट्रपतिले हो। तर राष्ट्रपति प्रधानमन्त्रीको अपराधको साक्षीमात्रै होइन, साझेदार बन्नुभएको कारण सडकमा आउनुपर्‍यो।’
प्रधानमन्त्री ओलीले पाँच वर्ष काम गर्न अनुकूल समय भए पनि काम गर्न नसकेको उनले बताए।

‘तीन वर्षपछि आज प्रधानमन्त्रीले संसद विघटन गर्नुभएको छ,’ उनले भने, ‘हाम्रा उपलब्धि एकपछि अर्को नाश हुँदै गइरहेको छ।’ कोरोना महामारीका बेला जनअपेक्षाअनुसार काम गर्ने बेला प्रधानमन्त्रीले संसद विघटन गरेको उनले बताए। पार्टीभित्रको झगडा र ओलीभित्रको अलंकारले सिंगो व्यवस्थामाथि प्रश्न उठेको उनले बताए। ‘असक्षम व्यक्तिलाई हामीले प्रधानमन्त्री पायौं त्यसकै दुर्भाग्य आजको परिस्थिति सिर्जना भएको छ,’ उनले भने।

प्रकाशित मिति : २०७७ पुष ६ गते सोमवार