प्रचण्डलाई भेट्न ओली पहिलो पटक खुमलटार जाँदै



प्रधानमन्त्री केपी शर्मा ओली कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न आज पहिलोपटक खुमलटार जाँदैछन् । पार्टी अध्यक्ष समेत रहेका ओली प्रधानमन्त्री भएपछि यसअघि खुमलटार गएका छैनन् । प्रधानमन्त्री भएपछि पहिलो पल्ट प्रचण्ड निवास खुमलटार जान लागेको नेता सुवास नेम्वाङले पुष्टि गरे । पार्टी भित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला प्रधानमन्त्री ओली खुमलटार जानुलाई निकै अर्थपूर्ण मानिएको छ । ओली खुमलटार जाने तय भएपछि पार्टीमा तरंग उत्पन्न भएको छ ।

प्रधानमन्त्री ओली बिहान १० बजे खुमलटार जान लागेको नेकपा स‌ंसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिएका छन् । दुई अध्यक्षबीचको भेटले बिग्रदै गएको वातावरण सहज हुने नेम्वाङको भनाइ छ । प्रचण्डले पहिलेदेखि नै प्रधानमन्त्रीलाई बोलाएको र हिजो बेलुका दुई अध्यक्षबीच भएको भेटमा आजको छलफलको समय तय भएको हो । प्रचण्ड माधव कुमार नेपाल समूह आफूविरुद्ध आक्रामक रुपमा लागेपछि पार्टीका हरेक कमिटीमा अल्पमतमा रहेका ओली दवावमा छन् ।

यसअघि पनि प्रधानमन्त्री ओली आफू अफ्ठ्यारोमा हुँदा विभिन्न नेताको निवासमा पुग्ने गरेका छन् । पछिल्लो समय ओली पार्टीका उपाध्यक्ष वामदेव गौतमनिवास भैंसेपाटी पुगेर पारिवारिक भेटघाट गरेका थिए ।

प्रकाशित मिति : २०७७ पुष ४ गते शनिवार