प्रचण्ड–नेपाल पक्षको निष्कर्ष : अध्यादेश फिर्ता नलिए विशेष अधिवेशनको माग व्युँतन्छ !



काठमाडौं, ३ पुष । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधब कुमार नेपाल समूहको भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीले संबैधानिक परिषद् सम्बन्धी विवादास्पद अध्यादेश तत्काल फिर्ता लिनुपर्ने निष्कर्ष निकालेको छ । शुक्रबार (आज) पेरिसडाँडामा आयोजना गरिएको उक्त भेलाले प्रधानमन्त्री ओलीले तत्काल अध्यादेश फिर्ता नलिए कठोर कदम चाल्ने निश्कर्ष निकालेको हो । उक्त विवादास्पद अध्यादेश फिर्ता गर्ने सहमति शीर्ष तहमा हुनुका साथै स्थायी समितिबाट निर्णय र निर्देशनसमेत भइसकेकाले ओलीले आलटाल गर्नुले गलत सन्देश दिएको भेलाले निष्कर्ष निकालेको छ ।

पेरिसडाँडाको उक्त भेलामा कार्यकारी अध्यक्ष दाहाल, बरिष्ठ नेता नेपाल, पूर्व अध्यक्ष झलनाथ खनाल तथा प्रदेश १ का जिल्ला अध्यक्ष र सचिवहरुको सहभागिता थियो । सहभागी नेताहरुले अध्यक्ष ओलीले जबरजस्ती पेलेरै भएपनि अघि बढ्ने रणनीति बोकेकाले पार्टीले समयमै नियन्त्रण नगरे दुर्घटना हुनसक्ने चिन्ता व्यक्त गरेका बताइएको छ । उनीहरुले तत्काल अध्यादेश फिर्ता नभएमा विशेष अधिवेशनको माग पुनः ब्युताएर संसदबाटै निकास खोज्नुपर्ने बताएका थिए । गत बुधबार बसेको नेकपा स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता लिने र संसदको विशेष अधिवेशन बोलाउन गरिएको सांसदहरूको हस्ताक्षर फिर्ता लिने सहमति भएको थियो । तर, अध्यादेश फिर्ता नलिई प्रधानमन्त्री ओलीले संबैधानिक परिषद्को बोलाएपनि दाहाल–नेपाल समूह झस्किएको छ । उक्त बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा तथा प्रधानन्यायाधीश समेत सहभागिताका लागि अनिच्छुक देखिएपछि बैठक स्थगित भएको थियो ।

प्रकाशित मिति : २०७७ पुष ३ गते शुक्रवार