
काठमाडाैं, ३ पुष । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले झापा विद्रोह र जनयुद्धका नायकहरूको राजमा थारू विद्रोह अपराध ठहरिएकाे बताउनुभएकाे छ । कैलालीको टीकापुर घटनामा मुछिएका लक्ष्मण थारु र रेशम चौधरीलाई अदालतले जन्मकैदको सजाय सुनाएपछि डा. भट्टराईले साे कुरा बताउनुभएकाे हाे । डा. भट्टराईले सांसद रेशम चौधरी, लक्ष्मण थारूलगायतलाई अदालतले पुनः दोषी ठहर गर्नु दुखद् भएको बताउनुभएकाे छ । उहाँले सामाजिक सञ्जाल ट्टीटरमा लेख्नुभएकाे छ- ‘यथास्थितिको रक्षार्थ कानून/अदालत बन्छन्।अत:उत्पीडित थारूजातिको मुक्ति अभियानमा लागेका सांसद रेशम चौधरी,लक्ष्मण थारूलगायतका थारू नेतालाई अदालतले दोषी ठान्नु नौलो भएन!विडम्बना झापाविद्रोह र जनयुद्धका नायकहरूको राजमा थारूविद्रोह अपराध ठहरियो!यो अन्याय सैह्य छैन। थारू नायकहरूलाई सलाम!’
यसअघि कैलाली जिल्ला अदालतले थारुलाई ३ वर्षको कैद सजाय सुनाएको थियो । उनी त्यो सजाय काटेर जेलबाट छुटिसकेका पनि थिए । तर बिहीबार उच्च अदालत दिपायलले जिल्ला अदालतको फैसला उल्ट्याउँदै थारुलाई जन्मकैदको सजाय हुने फैसला सुनाएको छ। उच्च अदालतले टीकापुर घटनाका मुख्य आरोपित रेशम चौधरीलाई पनि जन्मकैदको फैसला सुनाएको छ । यसअघि जिल्ला अदालत कैलालीले चौधरीलाई जन्मकैदको फैसला गरेकोमा उच्च अदालतले त्यसैलाई सदर गरेको हो । चौधरी जनता समाजवादी पार्टीका सांसद पनि हुन् । टीकापुर घटनापछि फरार रहेका चौधरीले प्रत्यक्ष चुनाव लडेर जितेका हुन् । ०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जनाको मृत्यु भएको थियो ।
सांसद रेशम चौधरी,लक्ष्मण थारू लगायतका नेपालको सम्भवत: सबभन्दा पुरानो तर अत्यन्त उत्पीडित थारू जातिको मुक्ति अभियानमा…
Posted by Dr. Baburam Bhattarai on Thursday, December 17, 2020