अन्त्य भयो नेकपा विवाद, चमत्कारी शैलीमा भए यस्ता सहमति !



काठमाण्डौ | नेकपामा नयाँ सहमति कायम भएको छ । सहमतिअनुसार अब प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, प्रचण्डको आरोपपत्र सबै फिर्ता हुने भएको छ । त्यस्तैगरी राष्ट्रपतिबाट जारी भएको अध्यादेश पनि फिर्ता हुने सहमति भएको एक नेताले बताए । नेताहरु भदौ २६ को सहमतिमा फिर्ता हुन तयार भएको बालुवाटार स्रोतले जानकारी गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा यस्तो सहमति जुटेको हो । भदौ २६ मा स्थायी कमिटीले गरेको निर्णय कार्यान्वयन गर्न दुवै पक्ष तयार भएका हुन् ।

त्यसपछि भएका त्रुटिहरु सच्याउन तयार भएको एक नेताले जानकारी दिए । उनका अनुसार सबै अनौपचारिक सहमति भएपछि अहिले स्थायी कमिटीको बैठक सुरू भएको हो ।
स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ । प्रधानमन्त्री अध्यादेश फिर्ता लिन तयार भएपछि संसद अधिवेशनको माग गर्दै दर्ताका लागि अघि बढाइएको निवेदन पनि फिर्ता लिन दाहाल पक्ष तयार भएको थियो ।

संयुक्त प्रस्ताव लैजाने सहमति
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वयले आगामी स्थायी कमिटीको बैठकमा संयुक्त प्रस्ताव लैजाने भएका छन् ।एकल रुपमा दुई अध्यक्षले पेस गरेका प्रस्तावमाथि छलफल हुँदा आफू बैठकमा सहभागी नहुने ओलीको अडानपछि संयुक्त प्रस्तावमा कुरा मिलेको हो । ओलीले यसअघि प्रचण्डको प्रस्तावलाई आरोप पत्र भन्दै फिर्ता लिनुपर्ने अडान राखेका थिए। स्थायी कमिटी बैठकमा दुवै अध्यक्षका उक्त प्रस्ताव फिर्ता गरेर संयुक्त प्रस्तावमाथि छलफल हुने सहमति भएको हो ।

अडानबाट प्रचण्ड–नेपाल समूहपनि ब्याक
प्रधानमन्त्री केपी शर्मा ओली विवादास्पद संवैधानिक परिषद्सम्बन्धी संशोधन अध्यादेश फिर्ता लिन राजी भएपछि संसद बैठक बोलाउनु पर्ने पक्षमा रहेको प्रचण्ड–माधव नेपाल समूहपनि आफ्नो अडानबाट पछि हटेको छ । ओलीले मंगलबार अध्यादेश ल्याएपछि प्रचण्ड नेपाल समूह संसद अधिवेशन बोलाउनका लागि दवाव दिन राष्ट्रपतिलाई नै हस्ताक्षर बुझाउन पुगेको थियो । तर बुधबार महासचिव विष्णु पौडेलसहित प्रचण्ड र ओलीबीच वालुवाटारमा भएको वार्तामा ‘ओलीले अध्यादेश फिर्ता लिने र प्रचण्ड–नेपाल समूह संसद बैठक बोलाउने अडानबाट पछि हट्ने’ सहमति भएको हो ।

मंगलबार ओलीले अध्यादेश ल्याएसँगै नेकपाभित्रको विवाद थप चर्किएको थियो भने ओली इतर समूहले ओलीको निर्णयको प्रतिवाद गर्ने निर्णय गरेको थियो । जसअनुसार दुई पक्षबीच विवादले चरम रुप लिएकै बेला बालुवाटारमा बसेको बैठकमा यस्तो समझदारी भएको हो । नेकपाका ८३ जना सांसदसहितको हस्ताक्षर संसद अधिवेशनका लागि राष्ट्रपतिकहाँ बुझाइएपनि दर्ता भने भइसकेको छैन । आजै हस्ताक्षर दर्ता गरेर राख्ने र ओलीले अध्यादेश प्रक्रियाअनुसार फिर्ता लिएपछि हस्ताक्षर पनि फिर्ता लिने बताइएको छ ।

प्रकाशित मिति : २०७७ पुष १ गते बुधवार